जनार्दनलाई प्रचण्डको जबाफ- पार्टी फुटाउँदैछ भनेर म‍ैले काहीँ भनेको छैन

'टुंगिसकेको कुरालाई टुंग्याउँदा नै ठीक हुन्छ, पार्टी फुटाउँदैछ भन्ने कुरा असत्य हो'
शनिबार, भदौ १, २०८१

prachanda_GAcv1cjsXc_bcS83goGKX-1723909964.jpg
 

(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी फुटाउँदैछ भन्ने कुरा आफूले कतैपनि नभनेको बताएका छन्। 

माओवादी केन्द्रको रकुम पश्चिम-काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी फुटाउँदैछ भन्नेकुरा आफूले कहिँ नभनेको र नसोचेको पनि बताए। 

'तर भ्रमै भ्रम, वरिपरिकाले भन्दै जाने, अर्काले भन्दै जाने गर्दा साँच्चै पार्टी फुटाउन प्रतिक्रियावादीहरू हिजो पनि लागेकै हुन्। आज पनि लागेका छन्,' प्रचण्डले भने। 

प्रचण्ड अगाडि बोलेका उपमहासचिव जनार्दन शर्माले आफूमाथि पार्टीको नेतृत्व र त्यसवरपरकाले नै पार्टी फुटाउन खोजेको आरोप लगाएको र त्यसको खण्डन अध्यक्ष प्रचण्डले गर्नुपर्ने बताएका थिए। 

जवाफमा अध्यक्ष प्रचण्डले स्थायी समिति बैठकको अन्त्यतिर आइसक्दा पार्टी फुटको भ्रम चिरिएको  बताए। 

'प्रतिक्रियावादी षड्यन्त्रलाई स्थायी समितिले खारेज गरेको छ। प्रभाकरले पार्टी फुटाउँदैछ भन्ने कुरा असत्य हो भन्ने मान्यता स्थापित गरिएको छ। तपाईं हामी सबैका निम्ति यो खुसीको कुरा हो,' उनले भने।

प्रचण्डले टुंगिसकेको कुरालाई टुंग्याउन पनि जनार्दनलाई आग्रह गरे।  

'अब प्रभाकरले पनि मलाई यसो भनियो, त्यसो भनियो बढी भन्न जरूरी छैन। जुन कुरा टुंगिसकेको छ, टुंगिएको कुरालाई टुंगिएकै रूपमा बुझ्नु र त्यसलाई त्यसरी नै सम्प्रेषण गर्नु उचित हुन्छ,' उनले भने। 

अध्यक्ष प्रचण्डले स्थायी समितिमा जनार्दनले प्रस्तुत गरेको दस्तावेजलाई केन्द्रीय कमिटीको दस्तावेजमा पनि आत्मसात र समायोजन गरिने बताए। 

उहाँले आफ्ना विचार राख्नुभयो। मेरो फरक मत होइन भनेर स्थायी समितिमा स्‍पष्टसँग भन्नुभयो।  यो मेरो मत चाहि हो। कतिपयले मौखिक राख्नुभयो। मैले लिखित राखेँ। तर मेरो यो मत हो फरक मत चाहि होइन। पार्टीले दस्तावेज बनाउँदै गर्दा यसलाई पनि आत्मसाथ गरोस् भन्ने स्‍पिरिटलाई पनि स्थायी समितिले स्विकार गरेको छ,' उनले भने। 

उनले जनार्दनले अत्याचार भएको भन्न जरूरी नरहेको पनि बताए। 

'यदी तपाईंले राखेका कुरालाई मूल नेतृत्वले नकारात्मक रूपमा लिएको भए तपाईंको सबैकुरा सुनेर सम्बोधन गर्न सकिने कुरालाई सम्बोधन गर्ने थिएन। यो कुरालाई पनि प्रभाकर कमरेडले पनि गहिरो गरेर आत्मासाथ गर्न जरूरी छ,' उनले भने। 

अध्यक्ष प्रचण्डले जनार्दन र आफू स्वभावले गर्दा अगुल्टो ठोस्सिएझैँ ठोस्सिँदा परिणाम राम्रै आउने पनि बताए। 

'बेलाबेला अगुल्टो ठोस्सिएझैँ ठोस्सिने गरेकै छौं। अहिलेमात्रै होइन जनयुद्ध कालमा पनि, जनयुद्ध पछि पनि। तर अगुल्टो ठोस्सिएझैँ ठोस्सिनु आगो बाल्नका लागि, खाना पकाउनका लागि जस्ता राम्रोका लागि हुँदै आएको छ। म विश्वास गर्छु, यो पटक अझ राम्रो हुनेछ। यो विवाद र बहसले पार्टीलाई एकताबद्ध गर्न र उहाँ र मबीचमा बेलाबेलामा हुने आशंकाहरू दूर गर्न र समझदारीलाई मजबुत गर्न मद्दत गर्नेछ,' प्रचण्डले भने।  

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  २१:४३
प्रतिक्रिया दिनुहोस्