मन्त्रिपरिषद्लाई एकैपटकमा पूर्णता दिने बालेनको तयारी

सोमबार, चैत ९, २०८२

नयाँ सरकार बनेपछि अधुरो मन्त्रिपरिषद बनाएर चरण-चरणमा बिस्तार गरिरहने पुरानो परिपाटीमा भावि प्रधानमन्त्री बालेन्द्र साहले ब्रेक लगाउने भएका छन् । आफूले शपथ खाएकै दिनमै पूर्ण आकारको मन्त्रिपरिषद् गठन गर्ने उनको तयारी छ ।

करिब दुई तिहाइ सांसदको समर्थनसहित बलियो सरकारका प्रधानमन्त्री बन्न लागेका बालेनले मन्त्रिपरिषदद्लाई एकैपटकमा पूर्णता दिने गरी गृहकार्य गरिरहेको स्रोतले बतायो । मन्त्रालयको संख्या उल्लेख्य घटाउने र छरितो मन्त्रिपरिषद् बनाउने विषयमा पनि उनी घोत्लिइरहेका छन् । आफ्नो कोर टीम र रास्वपाको उच्च नेतृत्वसँग उनको श्रृंखलावद्ध संवाद भइरहेको छ ।

स्रोतका अनुसार हालका २२ वटा मन्त्रालयलाई १५ वटामा झार्ने योजनामा काम भइरहेको छ । बालेनले १२ वटामात्रै कायम गर्न चाहे पनि टीममा छलफलपछि १५ वटासम्म राख्नु औचित्यपूर्ण हुने निस्कर्ष निकालिएको हो । विगतमा गरिएका विभिन्न अध्ययनले पनि मन्त्रालयको संख्या घटाउनुपर्ने प्रतिवेदन दिएका छन् । त्यसमा समेत टेकेर मन्त्रालयहरु गाभ्न होमवर्क भइरहेको स्रोतले जानकारी दियो ।

मन्त्रीहरू भने १८ जना बनाउने अहिलेसम्मको तयारी छ । संविधानतः प्रधानमन्त्रीसहित २५ जनासम्मको मन्त्रिपरिषद् बनाउन सकिन्छ । तर, बालेनले सकेसम्म सानो आकारमा जोड दिइरहेका छन् । प्रधानमन्त्री कार्यालयलाई भने थप सुदृढीकरण गर्ने उनको सोच छ ।
 

प्रकाशित मिति: सोमबार, चैत ९, २०८२  १८:०३
प्रतिक्रिया दिनुहोस्