सोसल मिडिया
हाम्रो बारे
गोपनीयता नीति
पुस अन्तिस साता सम्पन्न विशेष महाधिवेशनबाट मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेस राजनीतिक रुपमा विभाजित छ । केही दिनयता एउटा समूह सानेपास्थित केन्द्रीय कार्यालयमा र अर्को समूह धुम्बाराहीस्थित स्मार्ट होटलमा शक्ति अभ्यास गरिरहेका छन् । निर्वाचन आयोगले आधिकारिकता दिएको गगन थापा नेतृत्वको समूह सानेपामा र आयोगको निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालत पुगेको पूर्णबहादुर खड्का नेतृत्वको अर्को समूह स्मार्ट होटलमा बैठक–भेला गरिरहेका छन् ।
कांग्रेसले करिब ८ दशकको यात्रामा अनेर्कौ टुटफुट र विभाजन भोगेको छ । मेलमिलाप र एकता पनि कांग्रेसको जीवनमा सिक्काको अर्को पाटो हुन् । भदौ २३–२४ को जेनजी आन्दोलन कांग्रेसको टुटफुटको इतिहासमा नयाँ कडी बनेको छ । जेनजी बिद्रोहले ल्याएको परिवर्तनको बहावसँगै कांग्रेसमा पनि नेतृत्व परिवर्तनको प्रमुख एजेण्डासहित विशेष महाधिवेशन माग भयो । तत्कालीन संस्थापनले रोक्न खोज्दाखोज्दै पनि विशेष महाधिवशेन भएरै छाड्यो, जसबाट गगन थापा सभापति निर्वाचित भए । निर्वाचन आयोगले उनको नेतृत्वलाई आधिकारिकता दिएको अवस्थामा सर्वोच्चको फरक निर्णय नआएसम्म पार्टीको वैधानिकता गगन नेतृत्वको कार्यसमितिसँग रहेकोमा कुनै दुविधा रहेन । त्यसैले पार्टी तत्काल वैधानिक रुपमा विभाजित छैन । यद्यपि कांग्रेस राजनीतिक रुपमा भने विभाजित देखिन्छ ।
केही दिनयताका गतिविधिले कांग्रेसभित्रको राजनीतिक विभाजनलाई सतहमा ल्याइदिएको छ । कांग्रेसमा राजनीतिक ध्रवीकरण तीब्र छ । निर्वाचनसम्म शुषुप्त अवस्थामा रहेको विवाद पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारी प्रकरणपछि सतहमा आयो । संस्थापनइतर पक्षका नेता लेखकको गिरफ्तारीमा थापा समूह लामो समय मौन बस्यो । लेखकसँगै गिरफ्तार भएका आफ्ना अध्यक्षको गिरफ्तारीको विरोधमा एमाले सडकमा निस्किसक्दासम्म कांग्रेसले आधिकारिक धारणासमेत सार्वजनिक गरेन । साँझपख लेखकको नाम नलिइकन, उनको गिरफ्तारीको ठोस प्रतिवादसमेत नगरी, आन्दोलनसमेत नगर्ने भन्दै विज्ञप्ति सार्वजनिक ग¥यो । यसले संस्थापनइतर पक्षलाई सरकारसँग जत्तिकै आफ्नै पार्टीसँग पनि आक्रोशित बनायो । कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुर खड्काले सरकारको कदमको विरोधमा विज्ञप्ति सार्वजनिक गरे, जसले सरकारलाई भन्दा बढी कांग्रेस–सत्तालाई छोयो । उक्त विज्ञप्ति कांग्रेसलाई राजनीतिक रुपमा विभाजित गर्ने आधारशीला बन्यो । त्यसपछि खड्काको नेतृत्वमा स्मार्ट होटलमा भेला, बैठकलगायत गतिविधि भइरहेका छन् । यसले सानेपामाथि राजनीतिक दवाब बढाइरहेको छ ।
हुन त गगनकै हातबाट टिकट लिएर चुनाव लडेका शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशशरण महतलगायत नेताहरु पनि अहिले पूर्णबहादुरको मोर्चामा गोलबद्ध छन् । सर्वोच्चको फैसला नआउँदासम्म गगनको नेतृत्वलाई नस्वीकार्ने उनीहरुको एकमत छ । शेरबहादुर देउवाले न आफू चुनाव लडे, न त गगनले टिकट दिएका उम्मेदवारलाई भोट नै मागे । त्यसैले उनले गगनको नेतृत्वलाई स्वीकार्ने कुरै भएन ।
स्वयंले चुनाव हारेको र पार्टीको आकार पनि अत्यन्तै सानो भएको अवस्थामा सभापति थापा नैतिक रुपमा पक्कै कमजोर बनेका छन् । उनले नैतिकताको कारण देखाउँदै राजीनामा समेत दिएका थिए । यद्यपि केन्द्रीय कार्यसमितिले अस्वीकृत गरिदियो । आधिकारिकताको अदालती विवाद कायमै रहँदा इतर पक्षले राजनीतिक दवाब बढाएपछि उनीमाथि चुनौती थपिएको छ । उनको लागि पछिल्लो राजनीतिक दवाब निकै गहु्रुँगो देखिन्छ ।
कोइराला दाजुभाइ (शेखर र वीपीपुत्र शशांक) का साथै गणेशमानपुत्र प्रकाशमान सिंह र महेन्द्रनारायणपुत्र विमलेन्द्र निधिलाई साथमा लिएर पूर्णबहादुरले अगुवाई गरेको मोर्चाको महत्व कांग्रेसभित्र फरक छ । त्यसमाथि पछिल्लो १० वर्ष पार्टी सभापति रहेका र तीन दशकदेखि मुलुकको राजकीय सत्तामा प्रभाव जमाएका शेरबहादुर देउवाको संरक्षण हुनुले खड्का नेतृत्वको मोर्चा राजनीतिक रुपमा थप बलियो देखिन्छ । आमनिर्वाचनमा परिणाम जेजस्तो भोगे पनि कांग्रेसको आन्तरिक राजनीतिमा यी नेताहरुको प्रभाव र सामर्थ्य अझै घटेको छैन । कांग्रेसको चौधौं महाधिवेशनबाट केन्द्रीय समितिमा पुगेका सयभन्दा बढी पदाधिकारी तथा केन्द्रीय सदस्यहरु इतर समूहमा छन् । त्यतिमात्र होइन, देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका प्रमुख उम्मेदवारहरु शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिसमेत उनीसँगै छन् । यो राजनीतिक शक्तिलाई कम आँक्न मिल्दैन, जसले गगनलाई चर्को राजनीतिक दवाबमा पारेको छ ।
पछिल्लो राजनीतिक परिदृश्यमा कांग्रेस दोस्रो भएर पनि निकै सानो देखिन्छ । तर कांग्रेसको आकार पहिलोपटक सानो देखिएको होइन । २०४८ यताका ८ वटा राष्ट्रिय निर्वाचनमध्ये ४ वटा निर्वाचनमा दोस्रो स्थानमा झरेको छ । यद्यपि उसको राष्ट्रिय शक्तिमा उल्लेख्य क्षयीकरण भएको छैन । सत्तामा नहुँदा पनि प्रभाव भइरहनु कांग्रेसको संचित शक्तिको प्रतिफल हो । राणा शासनमा जन्मिएको कांग्रेस जित–हारका अनेकौं चुनावी हण्डर सहँदै यहाँसम्म आइपुग्नुमा उसको बलियो विरासत प्रमुख आधार हो ।यसपटक राष्ट्रिय राजनीतिमा परिवर्तनको बेजोड हुण्डरी चल्दा र चुनावभर कांग्रेसभित्र अन्तरद्वन्द्वको उकुसमुकुस हुँदाको प्रभाव भने निकै महँगो सावित भयो । विशेष महाधिवेशपछिको यही उकुसमुकुस अहिले बाहिर देखिएको छ । सानेपाले समानान्तर देखिने गतिविधि नगर्न चेतावनी दिइरहँदा स्मार्टमा भने इतर समूहले आफ्नो शक्ति थप मजबुत बनाउँदै लगेको छ । सर्वोच्च अदालतले विवादको निरुपण नगर्दासम्म शक्ति संघर्ष र समानान्तर गतिविधि कम हुने छाँट देखिँदैन । सर्वोच्चले आधिकारिकताको छिनोफानो गरेको अवस्थामा कांग्रेस राजनीतिक र वैधानिक रुपमा एकताबद्ध हुन्छ कि विभाजनको बाटोमा अघि बढ्छ, त्यो त निकट भविष्यले देखाउला । तर, त्यहाँसम्म सानेपाले ‘स्मार्ट’ कांग्रेसले बढाउँदै लगेको राजनीतिक दवाब कसरी थेग्ला ? परिस्थिति पेचिलो बन्दै गएको छ ।