देउवा मतदानको लागि डडेलधुरा नजाने

बुधबार, फागुन १३, २०८२

नेपाली कांग्रेसका पूर्वसभापति तथा ५ पटकका प्रधानमन्त्री शेरहबहादुर देउवाले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा मतदान समेत नगर्ने भएका छन् । विशेष महाधिवेशनबाट सभापति पद गुमाएपछि स्तब्ध बनेका देउवा निर्वाचन आयोगले आफूलाई आधिकारिकता नदिएपछि विचलित थिए ।

सर्वाेच्च अदालतले समेत अन्तरिम आदेश नदिएपछि अन्तिमपटक रुख चिह्नबाट चुनाव लड्ने प्रयास गरेका थिए । तर सभापति गगन थापाले टिकट नदिएपछि देउवा प्रतिनिधि सभा निर्वाचनका सबै प्रक्रियाबाट बाहिर छन् ।

उनलाई ‘बदलिएको कांग्रेस’का पदाधिकारीहरुले विभिन्न च्यानलबाट पार्टीको चुनावी अभियानलाई साथ दिन आग्रह गरे पनि उनले मानेका छैनन् । कांग्रेसका उम्मेदवारलाई जिताउनका लागि रुखमा मत माग्ने अपिलमात्र भने पनि सार्वजनिक गराउने प्रयास समेत सफल भएको छैन ।

प्रवक्ता देवराज चालिसेले पूर्व सभापति देउवालाई पार्टीका उम्मेदवार जिताउने अभियानमा सामेल गराउने प्रयास भइरहेका बताएका छन् । तर देउवाको सचिवालयले भने कसैसँग भेटघाट र कुराकानी नभएको तथा कसैको प्रचारमा जाने सम्भावना पनि नरहेको प्रष्ट पारेको छ ।

सचिवालय स्रोतले भन्यो- बदलियो कांग्रेस, बदल्छौं देश भन्ने नेताहरुले शेरबहादुरको अनुहार देखाएर चुनाव गयौं भने हारिन्छ भनेर सेटिङ मिलाएर जबर्जस्ती पार्टी कब्जा गरेको होइन ? अहिले आएर उहाँहरुलाई किन देउवा चाहियो ? देउवाको अपिल वा देउवा अभियानमा हिँड्दा कांग्रेसको भोट घट्यो भन्ने आरोप भोलि चुनावपछि उहाँहरुले नै लगाउने सम्भावना भएकाले उहाँ चुपचाप सबै अत्याचार सहेर बस्नुभएको छ ।

डडेलधुराबाट २०४८ देखि लगातार ७ वटा चुनावमा कांग्रेसको उम्मेदवार भएर सातैपटक जितेका देउवा अन्तिम चुनाव लड्न नपाएपछि घरबाट निस्केका छैनन् । उनको ठाउँमा उनीनिकटकै युवा नेता नैनसिंह महरले टिकट पाएका छन् । महरले देउवाको फोटो राखेरै आफ्नो चुनाव प्रचार गरिरहेका छन् ।

यसबीचमा महरसहित जिल्ला सभापति भिम साउदलगायतले देउवालाई एकपटक भने पनि डडेलधुरा लैजान गरेको प्रयास असफल भएको छ। देउवा यसपटक भोट हाल्न पनि डडेलधुरा नआउने जानकारी महरलाई गराइएको छ । यद्यपी औपचारिक रुपमा भनिएको छैन र देउवालाई फागुन २१ मै भने पनि डडेलधुरामा देखाउने प्रयास जारी छ ।

तर, स्वास्थ्य र सुरक्षाको कारण देउवा मतदानको लागि डडेलधुरा जाने सम्भावना लगभग अन्त्य भएको निकट स्रोतले जनाएको छ । फागुन २१ को चुनाव लगत्तै कांग्रेसमा निर्णायक लडाइँ शुरु हुने र त्यो कानूनी तथा राजनीतिक दुवै मोर्चाबाट गरिने भएकाले देउवासहितका साबिक संस्थापन पक्षका शीर्षस्थ नेताहरु अहिले रणनीति बनाइरहेका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  १५:४६
प्रतिक्रिया दिनुहोस्