८३ वर्षीय महन्थ ठाकुरकाे सांसद बन्ने तृष्णा

शुक्रबार, पुस २५, २०८२

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दिन लोसपा अध्यक्ष महन्थ ठाकुर आफ्ना पार्टी नेताकार्यकर्ताको सहारामा बुधबार दिउँसो करिब २: ३० बजेतिर जनकपुरको निर्वाचन कार्यालय पुगे ।

८३ वर्षीय ठाकुर निर्वाचन कार्यालय पुग्दा दुईजना कार्यकर्ताले दुवै हात कसेर समात्दै ल्याएका थिए । वृद्ध अवस्थाका उनलाई हिँड्नका लागि कार्यकर्ताले सहायता गरिरहेका थिए । केहीबेर कार्यालयमा बसे । कार्यकर्ताहरुले मनोनयनपत्र तयार गरे । सहीछाप गरेर उनले मनाेनयन दर्ता गराए ।

पुनः त्यसै गरी कार्यकर्ताकै सहारामा उनी त्यहाँबाट निस्किए । कार्यालय अगाडि उपस्थित सञ्चारकर्मीले उम्मेदवारीको विषयमा जिज्ञासा राखे । तर बिना सहारा उभिने अवस्थामा समेत नभएका ठाकुर बोलेनन् । सञ्चारकर्मीको आग्रहमा उनको तर्फबाट लोसपा वरिष्ठ नेता शरतसिंह भण्डारी नै बोले ।

‘कांग्रेस, एमाले, जसपा र लोसपाबीच राष्ट्रिय सभा निर्वाचनको लागि सहमति भएको थियो । त्यसमा अन्य तर्फ लोसपाका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराउनु भयो’ भण्डारीले भने ।

 

 

 

जबकी उनै ठाकुर गत २०७९ को प्रतिनिधि सभाबाट दोस्रो पटक महोत्तरी क्षेत्र नं. ३ मा चुनाव लड्दा अन्तिम पटक जनतासँग मत मागेका थिए । मत माग्न जाँदा उनी भन्थे, ‘यो मेरो अन्तिम चुनाव हो, यसपछि म चुनाव लड्ने छैन ।’

तर, जेनजी आन्दोलनको क्रममा संसद्‌ विघटनसँगै आगामी फागुन २१ मा पुनः चुनाव घोषणा भएको छ । अगामी माघ ११ मा राष्ट्रिय सभा चुनाव हुँदैछ । आफैं उठबस समेत गर्न अप्ठेरो अवस्थामा उनी पुनः राष्ट्रिय सभा सदस्य चुनावको लागि उम्मेदवार बनेका छन् । उनी आफ्नै दल लोसपासहित नेकपा एमाले, नेपाली कांग्रेस र जसपाका नेपालका साझा उम्मेदवार हुन् । यसले राजनीति उथलपुथल नभए करिब उनी राष्ट्रिय सभामा सुरक्षित हुने छन् ।

ठाकुर राजनीति जीवनमा धेरै संघर्ष गर्दै उतार चढाव झेलेका नेता हुन् । त्यसले उनको व्यक्तित्वको प्रशंसा पनि हुन्छ । कतिपयले आदर्शवादी नेता मान्छन् । तर यो अवस्थामा पनि राष्ट्रिय सभा सदस्यको लागि दिएको उम्मेदवारीले कतिपयले उनलाई पदलोभी नेता भनेर सामाजिक सञ्जालमा व्यापक टिप्पणी भइरहेको छ ।

उमेर र शरीरले साथ नदिएपनि अध्यक्ष ठाकुरको लामो मजबुत वैचारिक अनुभव आज देश र मधेशलाई आवश्यक परेकोले उनको उम्मेदवारी परेको लोसपा मधेश प्रदेश अध्यक्षसमेत रहेको पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलको तर्क छ ।

‘ शरीरले वृद्ध भएपनि वैचारिक रुपमा मजबुत हुनुहुन्छ । उहाँको लामो राजनीतिक अनुभव छ । वैचारिक रुपमा मजबुत नै हुनुहुन्छ । उहाँको विचार अहिले देश र मधेशलाई आवश्यक छ । परिस्थितिको माग पनि हो’ नेता सोनल भन्छन् ।

कुनै पनि अग्रजले लामो समय दिएको योगदानको कदर गर्नु र सम्मान गर्नु पनि दायित्व रहेको उनको भनाइ छ । ‘पार्टीमा कोही अग्रज बुज्रुक भए उहाँको अनुभव र सम्मान पनि गर्नुपर्छ’ उनले भने । महोत्तरीको पिपरा गाउँपालिका एकरहिया घर भएका ठाकुरले २०७४ र २०७९ सालमा लोसपाबाट प्रतिनिधिसभामा चुनाव जितेका थिए ।

विद्यार्थी कालदेखि नेपाली कांग्रेस निकट विद्यार्थीमा लागेर राजनीति यात्रा अघि बढाएका ठाकुरले जेलनेल भोगे । २०३६ बहुदलीय व्यवस्था र २०४६ मा भएको पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा उनको सक्रिय भूमिका थियो । पहिलो पटक २०४८ सालमा कांग्रेसबाट सर्लाही क्षेत्र नम्बर ५ बाट चुनाव जित्दै उनी संसदीय राजनीतिमा प्रवेश गरेका थिए । त्यस बेला उनी उपसभामुख बने । पुनः २०५१ को मध्यावधि निर्वाचनमा सर्लाहीबाटै चुनाव जितेपछि मन्त्री भएका थिए ।

 

नेपाली कांग्रेसका कोषाध्यक्ष र सरकारका कृषि, कानुन, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका ठाकुरले २०६४ सालमा पार्टी त्यागेर आफ्नै नेतृत्वमा तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) खोले ।

पहिलो संविधानसभा निर्वाचन २०६४ मा उनी सर्लाही निर्वाचन क्षेत्र नं. ४ मा चुनाव लडे । तर मधेशी जनअधिकार फोरमका उम्मेदवार शिवपुजन यादवसँग पराजित हुन पुगे । त्यस बेला मनोनीतमा उनलाई संविधानसभा सदस्य बनाइएको थियो ।

दोस्रो संविधानसभा २०७० को चुनावमा पनि उनी पराजित भए । उनलाई कांग्रेसका उम्मेदवार अमरेश सिंहले पराजित गरे । संविधान घोषणाको मुखमा भएको ६ महिने तेस्रो मधेश आन्दोलनमा उनले मधेशवादी दलहरुसँग गठबन्धन गरी संयुक्त मधेशी मोर्चा बनाएका थिए । आन्दोलनको मुभमेन्टले मधेशमा मधेशवादीप्रति सहानभूति बढ्यो ।

२०७४ को निर्वाचनको मुखमा महन्थ ठाकुरले ६ वटा दलसँग गठबन्धन गरी नयाँ पार्टी गठन गरे । तमलोपा, अनिल झाको संघीय सद्भावना पार्टी, शरत सिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टी, राजकिशोर यादवको मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), राजेन्द्र महतोको सद्‌भावना पार्टी र महेन्द्र राय यादवको तराई मधेश सद्भावना पार्टी एकीकरण भई राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल गठन भयो । यसमा चक्रीय प्रणालीबाट संयोजक तोकिन्थ्यो ।

 

२०७४ को निर्वाचनमा राजपा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टी र राजपाले प्रतिनिधिसभा र प्रदेशसभामा राम्रो उपस्थिति देखायो । दुवै दलबीच २०७७ मा एकता भएर जनता समाजवादी पार्टी (जसपा) नेपाल बन्यो । डेढ वर्षपछि २०७८ मै जसपाबाट दल विभाजन गरी ठाकुरले आफ्नो नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरे ।

राजनीतिक यात्राको क्रममा पछिल्लो समय राष्ट्रिय राजनीतिको केन्द्रमा रहे । उपप्रधानमन्त्री बन्न कयौंपटक अवसर पाउने स्थिति बन्यो तर उनी अन्य नेतालाई पठाए । आफू बनेनन् ।

राष्ट्रपतिको लागि पनि ठाकुरको पटक पटक चर्चा भयो । नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको संसद्‌ विघटनको बेला काँग्रेसले उनलाई प्रधानमन्त्रीको लागि समेत अफर गरेको थियो ।

जति बेला उनी ओलीसँग मिले । त्यस सरकारमा राजेन्द्र महतो उपप्रधानमन्त्री बने । तर सर्वोच्चको आदेशले कांग्रेस सभापति देउवा प्रधानमन्त्री नियुक्त भएका थिए ।

यद्यपी उनीमाथि परिवारवादको आरोप समेत लाग्ने गरेको छ । आफ्नो सम्धिनीलाई संविधानसभा सदस्य बनाएको, सम्धीलाई भागबण्डामा प्रदेश प्रमुख बनाएको र गत चुनावमा समानुपातिकमा छोरोको नाम राखेकोमा आलोचना समेत खेप्नु परेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२  ११:०५
प्रतिक्रिया दिनुहोस्