पुसभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशनका लागि तयार रहन अपिल

मंगलबार, मंसिर १६, २०८२

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिले सोमबार पारित गरेको कार्य तालिका अनुसार पुसभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशनका लागि  तयार रहन उक्त प्रस्तावमा हस्ताक्षर गरेका प्रतिनिधिहरूले साझा अपिल जारी गरेका छन्।

पन्ध्रौं महाधिवेशनको घोषणा विशेष महाधिवेशन मागकर्ताहरूको हस्ताक्षरको परिणाम भएको उल्लेख गर्दै अपिलमा भनिएको छ, 'उक्त समयमा महाधिवेशन सम्पन्न नभए विशेष महाधिवेशनका लागि तयार रहन हार्दिकतापूर्वक आह्वान गर्न चाहन्छौं।

केन्द्रीय समितिले प्रस्ताव गरेको पुस २६-२८ को महाधिवेशन मितिपूर्व पार्टीका विभिन्न संरचनाका लागि विभिन्न चरणमा प्रस्ताव गरिएको कार्य तालिका प्रथम दृष्टिमै अव्यावहारिक र अवैज्ञानिक देखिएको अपिलमा उल्लेख छ।

'हामीसँग समयको फराकिलो सुविधा छैन, न त घोषित मिति सार्ने कुनै नैतिक वा वैधानिक आधार नै छ। त्यसैले हामी स्पष्ट पार्न चाहन्छौं, कुनै पनि बहाना वा अवस्थामा अधिवेशनका श्रृंखला अवरूद्ध गरिए वा भए असोज २९ मा दर्ता गरिएको विशेष महाधिवेशनको प्रस्ताव अझै जीवित छ र विधान बमोजिम पूर्ण रूपमा कार्यान्वयन योग्य छ,' अपिलमा भनिएको छ।

'पुस २८ मा महाधिवेशन सम्पन्न हुने मिति तोकिरहँदा माघ मसान्तसम्म केन्द्रीय समितिको समयावधि थप्नुको उद्देश्य के हो? यसले समयमै अधिवेशन सम्पन्न हुँदैन भन्ने संशयलाई आधार दिएको छ,' अपिलमा छ, 'यसबीच हुने आमचुनावका विभिन्न सिफारिसको अवस्था के हुन्छ? यसको निष्पक्षता र वैधताको आधार के हो? हामीले यसलाई गम्भीरतापूर्वक हेरिरहेका छौं।'

नेपाली कांग्रेसका २,४८८ जना (कुल महाधिवेशन प्रतिनिधिको ५४.८ प्रतिशत) महाधिवेशन प्रतिनिधिले गत असोज २९ गते विशेष महाधिवेशन माग गर्दै लिखित कारण र हस्ताक्षरसहित निवेदन दर्ता गराएका थिए।

यसअघि महामन्त्री विश्वप्रकाश शर्माले पनि पुस २६ देखि २८ गतेसम्म तोकिएको नियमित महाधिवेशन गर्न अलमल गर्ने हो भने विशेष महाधिवेशन हुने बताएका थिए।

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  १२:२३
प्रतिक्रिया दिनुहोस्