सोसल मिडिया
हाम्रो बारे
गोपनीयता नीति
नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ। युवा संघले आगामी जेठ ९ गतेदेखि ११ गतेसम्म पोखरामा दसौं महाधिवेशन गर्दैछ।
महाधिवेशनमा करिब १ हजार ८ सय प्रतिनिधि हुनेछन्। तर विभिन्न पार्टीका युवा संघ–संगठन, अन्य कमिटी परित्याग गरी राष्ट्रिय युवा संघमा आएकाहरूलाई पनि ध्यानमा राखेर प्रतिनिधि संख्या केही बढाउने समझदारी भएको युवा संघको भनाइ छ ।
युवा संघले आगामी महाधिवेशनबाट ९ पदाधिकारीसहित १५१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गर्नेछ। गत फागुन १८ गते बसेको एमाले सचिवालय बैठकले जनसंगठनहरूमा पदाधिकारी संख्या ९ मा सीमित गर्ने निर्णय गरेको थियो। सोही अनुसार पार्टी केन्द्रले परिपत्र गरेको थियो। उक्त निर्देशनअनुसार युवा संघलगायत जनसंगठनहरूमा एक अध्यक्ष, महिलासहित दुई उपाध्यक्ष, एक महासचिव, एक उमहासचिव र चार सचिव राख्न पाइने छ, जसमा विदेश सचिव, संगठन सचिव, प्रचार सचिव, कोष सचिव या कोषाध्यक्षको प्रबन्ध गर्न सकिने एमालेले बताएको छ।
राष्ट्रिय युवा संघको अध्यक्षमा अहिलेसम्म तीन जना आकांक्षी छन्। एमालेभित्रको पछिल्लो शक्ति संघर्ष र नेताहरूका रूचिका कारण अरू आकांक्षी थपिन सक्ने युवा संघका एक नेताले बताए। संगठनका उपाध्यक्ष कृष्णहरि केसी, महाराज गुरूङ र महासचिव सुमन पुरी अध्यक्षका आकांक्षी हुन्। पुरी युवा संघमा उपाध्यक्ष भइसकेका छन्। रूपन्देहीका पुरीसँग उपाध्यक्ष विष्णु पौडेलको पनि राम्रो सम्बन्ध छ।
अध्यक्षमा अर्का प्रत्यासी महाराज गुरूङ नाताले एमाले पोलिटब्युरो सदस्य पार्वत गुरूङका भान्जा पर्छन्। पार्वतसँगको सम्बन्धका कारण उपमहासचिव विष्णु रिमाल, भानुभक्त ढकाललगायत नेताहरू महाराजप्रति पनि सकारात्मक छन्। एमाले पोलिटब्युरो सदस्य कर्ण थापालगायत केही नेताहरूले अर्का उपाध्यक्ष कृष्णहरि केसीलाई अध्यक्ष बनाउँदा उपयुक्त हुने तर्क गरिरहेका छन्।
तीन जना नेताहरूकै आकांक्षा चुलिँदै जाँदा एमालेका केही नेताहरूले भने क्षितिज थेवेलाई नै दोहोर्याउँदा उपयुक्त हुने सुझाव पनि दिइरहेका छन्। एमालेले पछिल्लो समय आदिवासी जनजाति समूदायभित्र आफ्नो मताधार कमजोर बन्दै गइरहेको निष्कर्ष निकालेको छ। लिम्बू समूदायमा एमालेको राम्रै उपस्थिति थियो। पूर्वसभामुख सुवास नेम्वाङको निधन र पूर्वमन्त्री बसन्त नेम्वाङ मष्तिष्काघातका कारण हिँडडुलसमेत गर्न नसक्ने गरी थलिएपछि एमालेले लिम्बू समूदायबाट विकल्पमा नेता तयार पार्नुपर्ने अवस्थामा छ। त्यसका लागि उपयुक्त पात्र थेवे हुनसक्ने नेताहरूको बुझाइ छ। थेवे आफैले भने सार्वजनिकरूपमा दोहोरिने इच्छा देखाएका छैनन्।