सोसल मिडिया
हाम्रो बारे
गोपनीयता नीति
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसदहरूले सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति गुनासो गरेका छन् ।
शनिबार दिउँसो बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्ने धेरैजसो सांसदहरूले नीति तथा कार्यक्रममा प्रयोग भएका नारा, राष्ट्रपतिको नाममा यसअघि तय भएका कार्यक्रम लगायतका विषयमा सांसदहरूले नेतृत्वलाई प्रश्न गरेका हुन् । बैठकमा सहभागी एक सांसदका अनुसार विशेषगरी राष्ट्रपतिको नाममा यसअघि राखिएका कार्यक्रमहरू राष्ट्रपति परिवर्तन भएसँगै फेरिएकोमा गुनासो गरे ।
बैठकमा सांसदहरू नारायण खड्का, जीवन परियार, बद्री पाण्डे, राजन केसी, रामकृष्ण यादव, डिगबहादुर लिम्बु, प्रतिमा गौतम, सरिता प्रसाईं, शान्ति परियार, कान्तिका सेजुवाल लगायतले धारणा राखेका थिए ।
उनीहरूले बजेट विनियोजन गर्ने बेलामा समानुपातिक र प्रत्यक्ष सांसदहरूलाई छुट्याएर बन्न नहुने तर्क गरेका थिए । ‘संविधानले दिएका अधिकारमाथि हनन् हुन हुँदैन, कतै न कतै समानुपातिक सांसदहरूलाई पनि बराबर हक दिनुपर्छ,’ बैठकमा नेताहरूले राखेको भनाइ उद्धृत गर्दै ती सांसदले सुनाए, ‘समानुपातिक सांसदलाई पनि संविधानले दिएको हक बराबर हो ।’
सांसद जीवन परियारले नीति तथा कार्यक्रममा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा राखेकोप्रति आपत्ति जनाए । ‘सम्मुनत नेपाल, सम्मानीत नेपाली भन्ने नारा थियो,’ परियारले बैठकमा भनेका थिए, ‘समृद्ध नेपाल सुखी नेपालीको नारा आयो अहिले, हामी सँगै छौं भन्ने कुरा पनि बिर्सिएको हो कि ?’