अनि, नवराजले कर्णालीको आवाज सिंहदरबारलाई सुनाए

सोमबार, असार ९, २०८२

सुर्खेतबाट खाली खुट्टै सिंहदरबारको यात्रा तय गर्दा नवराज बोहोरालाई गन्तव्यमा कहिले पुगिन्छ भन्ने थाहा थिएन । तर, उनमा एउटा दृढ आत्मविश्वास थियो– एक दिन पक्कै पुगिनेछ । पुगेपछि उनको योजना थियो– पर्यावरण तथा पशु अधिकार संरक्षण र भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्नका लागि प्रधानमन्त्रीलाई कर्णालीको आवाज सुनाउने ।

500092217_1126406566170774_3749147124082047655_n-1750698234.jpgएक सातासम्म कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पैदल यात्रा गरेका उनले आठौं दिन (जेठ ११ गते) सुर्खेत छोडेका थिए । अभियान सुरु गरेको ३० औं दिन असार ३ गते उनी संघीय राजधानी काठमाडौंको थानपुगे पुगे । अनि लामो श्वास फेर्दै सोचे– अब मेरो सपनाले सार्थकता पाउनेछ ।

‘अनियमितता र भ्रष्टाचारविरुद्ध खाली खुट्टा खबरदारी अभियान’ को ब्यानर बोकेका उनी असार ४ गते जब प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवार पुगे, तब उनले अकल्पनीय व्यवहार सामना गर्नुपर्‍यो । एमाले सुर्खेतका केही नेतासँगको समन्वयमा उनी बिहान साढे ९ बजे बालुवाटार पुग्दा भित्र छिर्न दिइएन । प्रवेशद्धारको २ सय मिटर टाढै रोकेर राखियो । करिब ३ घण्टासम्म प्रहरीको निगरानीमा बस्न बाध्य भए ।

त्यहीबीच उनको अभियानमाथि भद्दा मजाक गर्दै एउटा नाटक मन्चन गरियो । प्रधानमन्त्रीसँग भेटाउने भन्दै प्रहरीको गाडीमा दिउँसो २ बजेतिर सिंहदरबार लगियो । अनि, प्रधानमन्त्रीले उपहार पठाएको भनेर उनको हातमा गोल्डस्टार जुत्ता थमाइयो । भेटचाहिँ गराइएन । त्यसपछि दिउँसो करिब ३ बजेतिर प्रहरीले गाडीमा राखेर सुन्धारा छोडिदियो । र, भन्यो– ‘तपाइँ घर जानुहोस् ।’

नवराज आफूलाई ‘भेडा’ भन्छन् । भेडा यस्तो प्रजातिको जनावर हो, जो निकै सोझो र हिँडेपछि दायाँबायाँ नगरी अगाडि बढ्छ । पछाडि फर्किँदैन ।

20250617143215-1750732683.jpgप्रहरीले भन्नेबित्तिकै मानवरुपी भेडा नवराज किन घर (सुर्खेत) फर्किन्थे ? आफ्नो अभियानलाई सशक्त पार्न भृकुटीमण्डप गएर ‘प्रेस–मिट’ गरे । उनले आफ्नो पवित्र अभियानमाथि राज्यले गरेको नजरअन्दाज र अपमानको भण्डाफोर गरे । ‘मलाई प्रधानमन्त्रीसँग भेट्न दिइएको भए आफ्नो कुरा राखेर कर्णाली फर्किन्थेँ, मिडियाबाजी गरेर भाइरल हुने मेरो कुनै रहर थिएन,’ हामीसँगको कुराकानीमा उनले भने, ‘अहिले पनि मलाई आफू प्रचारित हुन रहर छैन, बरु कर्णालीबाट दुःख गरेर बोकेर ल्याएका एजेण्डाको संवोधन होस् भन्ने चाहन्छु ।’

नवराजको अभियान निकै भद्र र सालिन छ । अभियानको क्रममा दुइटै खुट्टामा घाउ भए । उनले निकै दुःख पाए । खुट्टामा धेरै घाउ भएपछि उनी उपचार गर्न १ दिन बुटवल र २ दिन चितवनमा बसे । तर उनको अभियानले अरु कसैलाई दुःख दिएन । सडकमा टायर बाल्ने, अरुको आत्मसम्मानमा आँच पुग्ने गरी विरोध प्रदर्शन गर्ने, कालो झण्डा देखाउने, अश्लिल र अपाच्य गालीगलौच गर्ने प्रवृत्तिका विरोधी उनी आफ्ना कुरा नम्रतापूर्वक राख्छन् ।

IMG_1248-1750698549.jpgनागरिकको सुरक्षा र परिचयमाथि पहुँच राख्ने राज्य संयन्त्रले भने नवराजलाई समयमै चिन्न सकेन । उनले प्रधानमन्त्रीलाई भेटेर आफ्ना कुरा राख्न थुप्रै प्रयास गरे । तर, संभव भएन ।

बालुवाटार र सिंहदरबारबाट अपहेलित भएको पाँचौं दिन आइतबार बिहान उनी कर्णालीका शीर्षनेता कांग्रेस उपसभापति एवं पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्कालाई भेट्न उनको निवास गल्फुटार पुगे । नवराजले बोकेको एजेण्डामा सहमति जनाउँदै र उनीमाथि भएको अपमानप्रति दुःख मनाउ गर्दै खड्काले भने, ‘तपाइँले हामी जनप्रतिनिधिको जिम्मेवारी बोक्नुभएको छ । भ्रष्टाचार अन्त्य गर्ने, पर्यावरण र पशु अधिकार संरक्षण गर्ने हाम्रो पनि दायित्व हो । तपाइँले आफ्नो कुरा प्रधानमन्त्रीसँग राख्नुहोला, म भेटघाटको लागि समन्वय गरिदिन्छु ।’ खड्काले नवराजका कुरा सुनिसकेपछि खादा ओढाएर सम्मानका साथ उनलाई निवासबाट विदाइ गरे ।

510992734_1701300457929837_6197894023864792063_n-1750698310.jpgत्यसको करिब ३ घण्टापछि प्रधानमन्त्रीको सचिवालयबाट नवराजलाई फोन आयो । ‘तपाइँलाई प्रधानमन्त्रीले भेट्न चाहनुभएको छ, २ बजे बालुवाटार आउनुहोला ।’

नवराजले खड्काका स्वकीय सचिव गौतम बिसी र एमाले सुर्खेतका नेता टेकेन्द्र बस्नेतलाई पनि साक्षीको रुपमा प्रधानमन्त्रीसँगको भेटमा सँगै लिन चाहे । एमाले कर्णाली इन्चार्ज गोरखबहादुर बोगटी बालुवाटारमै भेटिए । अनि उनले कर्णालीका प्रतिनिधिलाई राखेर प्रधानमन्त्रीसमक्ष कर्णालीका मुद्दा सुनाए ।
    प्रधानमन्त्री ओलीसँग उनी करिब ४५ मिनेट बसे । सो क्रममा उनले कर्णालीमा पशु अधिकार र पर्यावरण संरक्षण तथा अनियमितता र भ्रष्टाचार अन्त्य गराउनका लागि संघीय सरकारसँग आग्रह गरे । उनले अर्बौं रुपैयाँका भ्रष्टाचार काण्ड सुनाएनन् । बरू कर्णालीका जनताले औषधी उपचार नपाएको, पढ्न नपाएको, एक जोर जुत्ता लगाउन नपाएको, जनताको गाँस–बास काटेर हुनेखानेले अनियमितता गरेको, पर्यावरणीय दोहन भएको, पशु अधिकार हनन् भएको लगायत कुराहरु राखे । ‘मैले राखेका कुरा समम्र देशकै सरोकार र समस्या हुन्, तर मैले कर्णालीलाई केन्द्रमा राखेर प्रधानमन्त्रीसमक्ष सुनाएँ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले नवराजको स्वास्थ्य अवस्थाबारे चासो राख्दै उनका कुरा रुचीपूर्वक सुने । केही दिनअघि नै भेट्न चाहे पनि समय अभावले भेट्न नसकेको बताए । अनि भने, ‘कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन, पशु संरक्षणमा तपाइँले सुरु गर्नुभएको अभियान अत्यन्तै राम्रो छ, यसमा हामी सबैको ध्यान पुग्न जरुरी छ ।’

511142773_122232800000189177_6438178851210058781_n-1750728430.jpgअहिले नवराजले बोकेका कर्णालीका मुद्दा राष्ट्रिय रुपमा साझा भएका छन् । उनी यसलाई अभियानको प्रारम्भिक सफलता मान्छन् । यद्यपि यी मुद्दाको व्यवहारिक रुपमा सम्बोधन हुनुपर्नेमा उनको जोड छ । यसको लागि उनले संघीय राजधानी काठमाडौंमा जिम्मेवार र जवाफदेही व्यक्तिसँग भेटेर अभियानको उद्देश्य र औचित्यबारे प्रष्ट्याइरहेका छन् । सोमबार बिहान उनले पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहासँग भेटे । २० मिनेटको कुराकानीमा दाहालले भने, ‘म र हाम्रो पार्टी तपाइँको मुद्दामा सहमत छौं, हामी तपाइँको अभियानलाई सार्थक बनाउन सहयोग गर्छौं ।’

509452129_2060516551353347_6919107659730467816_n-1750698364.jpgयही बीचमा उनले कांग्रेसका सांसदहरु हृदयराम थानी, कान्तिका सेजुवाल, रास्वपाका प्रवक्ता मनिष झा र सांसद बृन्दा कठायत, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायतलाई आफ्नो अभियानमा साथ दिन आग्रह गरिसकेका छन् । ‘हामी मन्दिरमा जुत्ता–चप्पल बाहिरै राखेर जान्छौं, त्यसैगरी मैले मेरो पवित्र अभियानलाई जुत्ता–चप्पल नलगाएरै पूरा गरेको छु,’ उनले भने ।

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  २३:०३
प्रतिक्रिया दिनुहोस्