सुधांशु कोइरालासँग घरदैलो संवाद

विरासतलाई आत्मसाक्षी राख्दै जनताका आवश्यकता र जेनजेड पुस्ताको भावनालाई सम्बोधन गर्नेछु

बुधबार, फागुन १३, २०८२

चुनाव केन्द्रीत घरदैलोमा रहेका बाँके क्षेत्र नं. २ का कांग्रेस उम्मेद्वार सुधांशु कोइरालासँग नेपालनीतिले हिँड्दाहिँड्दै विभिन्न वडामा पुगेर संवाद गरेको छ । उनीसँग गरिएको संवादको मुख्य अंश  :

शासकीय राजनीतिको सुरुवातीमै संघीय संसदको निर्वाचनमा उम्मेद्वार हुनुभयो, लक्ष्य के हो तपाईंको ?
मलाई मेरो पार्टीले विश्वास गरेको छ । अबको लक्ष्य जनताको विश्वास जित्ने हो । यसको लागि सबैभन्दा पहिले निर्वाचन जित्नुपर्नेछ, त्यसपछि संसदमा पुगेपछि इमान्दारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्नेछु ।

तपाइँका चुनावी मुद्दाहरु के के हुन ?
मूलतः संविधानको कार्यान्वयन र त्यसमाथि आवश्यक सुधार नै प्रमुख एजेण्डा हुन् । लोकतान्त्रिक व्यवस्था मजबुत गर्नु नेपाली कांग्रेसको र मेरो मुद्दा हो । त्यसका लागि राजनीतिक स्थायीत्व आवश्कय पर्छ । यसका साथै मेरो निर्वाचन क्षेत्रको भौतिक विकासमा सक्रियताका साथ रहनेछ ।

तपाइँले यस क्षेत्रका स्थानीय आवश्यकतालाई कसरी केलाउनु भएको छ ?
यो निकै महत्वपुर्ण विषय हो । नेपालगन्ज र डुडुवा क्षेत्रमा भौतिक विकासका लागि संसदमा आवाज उठाउनेछु । बजेट ल्याउनको लागि मेरो जोडदार र प्रभावशाली प्रयास रहनेछ । भौतिक विकास, प्रविधि क्षेत्रको विकास, रोजगारी, पर्यावरणीय मुद्दा, सहरीकरणको वैज्ञानिक व्यवस्थापन, खेलकुद र खेलाडीको सर्वाङ्गीण विकास, अल्पसंख्यक समुदायको हक र अधिकारको प्रत्याभूति मेरा मुद्दा हुन् । यी विषय व्यापक छन् । म यति भन्छु कि एउटा सासंसदले खेल्नुपर्ने भूमिकामा म चुक्ने छैन ।

तपाइँको मुख्य प्रतिस्पर्धा कोसँग हो भन्ने लागेको छ ?
उम्मेदवारी दर्ता गराएका सबैसँग स्वस्थ प्रतिष्पर्धा हो भन्ने ठान्छु । तर मुख्य–मुख्य राजनीतिक दल प्रतिस्पर्धी हौं । 

घरदैलोमा हिँड्दा बाँकेको क्षेत्र नं. २ का मतदाताहरुको मुड बुझ्नुभयो त ? अनि चुनाव जित्ने आधार के–के हुन् ?
नेपाली कांग्रेस मुलुकको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक दल हो । कांग्रेसले सँधै मतदाताहरुमाथि पुर्ण विश्वास गर्दछ । तर मतदाताहरु कुनै दबाव र प्रभावमा पर्नु हुँदैन भन्नेमा पनि उत्तिकै चासो रहने गर्दछ । चुनाव जित्ने मुख्य आधार नै कांग्रेसको सिद्धान्त र कार्यक्रम हो । हामी उम्मेदवारहरुका कार्यशैली र विगतलाई मतदाताले केलाउनुहोस भन्छु । व्यवस्था, कार्यक्रम र कार्यशैली नै चुनाव जित्ने आधार हुन् । म व्यक्ति मात्रै केही होइन, मेरो राजनीतिक संस्कार र पार्टीको मुद्दा नै मेरो चुनाव जित्ने जग हो । व्यक्तिगत रुपमा म एक सचेत नागरिक हुँ, अनि पार्टी संगठन मेरो आधार हो । मतदाताले विकास र सुशासन खोजेका छन् ।

026b7eca-eed6-4a28-bf19-c66d5a0d22db-1772011991.jpg
तपाइँ राजनीतिक रुपमा स्थापित कोइराला परिवारको सदस्य पनि हो । यसपटक विरासत फर्काउन सक्नुहुन्छ त ?
हामी हाम्रो पारिवारिक पृष्ठभूमिमा गर्व गर्दछौं । यद्यपि विरासत नै मूलविषय होइन । म विरासतलाई आत्मसाक्षी राख्दै  जनताका आवश्यकता र जेनजेड पुस्ताको भावनालाई सम्बोधन गर्नेछु । पार्टीले दिने जिम्मेवारी र कामको मुल्यांकन गर्ने परिपाटीलाई आत्मसाथ गर्दछु । बाँकेले केन्द्रीय सभापति र प्रधानमन्त्री पाएको परिवारको सदस्यका नाताले म आफूलाई शैभाग्यशाली ठान्दछु । पार्टीको निर्णय र क्रियाशिलतामा विश्वास गर्दछु । जनताको मतले स्थापित हुने परम्परामाथि भरोसा गर्दछु । यसपटक मलाई यो क्षेत्रमा कांग्रेसले गुमाएको विरासत फर्काउँछु भन्ने आत्मविश्वास छ ।

यसपटकको चुनावले तपाइँलाई के विषयलाई स्थापित गर्नसक्नुपर्छ भन्ने लागेको छ ?
म फेरि पनि भन्छु– हामीले लोकतान्त्रिक प्रक्रिया र राजनीतिक स्थायित्वलाई स्थापित गराउनु पर्नेछ । अल्पायुमा संसद भंग हुने अस्थिरताबाट देशलाई सुरक्षित गरेर अघि बढ्नुपर्ने हो । भौतिक विकास र बजेटको समान वितरणका लागि मेरा प्रयासहरु निरन्तर जारी रहनेछन् ।

जेनजेड पुस्ताका लागि तपाइँको सन्देश के छ ?
हरेक परिवर्तनमा युवाको महत्वपूर्ण भूमिका रहन्छ । जेनजेड पुस्ताले उठाएको परिवर्तनको आवाज कांग्रेसले सम्बोधन गर्न सक्छ । हामी जेनजेड पुस्तालाई नेपाली कांग्रेसको लोकतान्त्रिक प्रतिबद्धतालाई विश्वास गर्न अनुरोध गर्दछु । सुशासनको प्रत्याभूति दिलाएर भ्रष्ट्राचार रोक्न हामी शतप्रतिशत काम गर्नेछौं । देशलाई सहि मार्गमा लैजान कांग्रेसको रोडम्यापलाई साथ दिन अपील गर्दछु ।
 

प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  १५:२०
प्रतिक्रिया दिनुहोस्