सोसल मिडिया
हाम्रो बारे
गोपनीयता नीति
राजनीति समाजसेवा हो, र समाजसेवा वास्तविक व्यवहार । अनि त्यो व्यवहारलाई कार्यान्वयन गर्ने आधार हो– व्यवसाय । ५२ वर्षीय विष्णुबहादुर खड्काको जीवनमा राजनीति, समाजसेवा र व्यवसाय, तीनवटै आयाम उत्तिकै सशक्त छन् । उनी त्रिआयामिक व्यक्तित्व हुन् ।
आमा माया खड्का र बुवा प्रेमबहादुर खड्का (माया–प्रेम) को साइँलो छोराको रुपमा सुर्खेतको भर्लेनीमा जन्मेका हुन्– विष्णुबहादुर । उनी राजनीतिक परिरवारमा जन्मिए अनि राजनीतिक संस्कारमै हुर्किए । त्यसैले उनी राजनीतिबाट कहिल्यै टाढा रहेनन् ।
उनका बुवा प्रेमबहादुर आफ्नो समयका लोकप्रिय समाजसेवी । पञ्चायतकालमा समाजसेवीलाई ‘पञ्च’, ‘मुखिया’ जस्ता पहिचानले चिनिन्थ्यो । समाजसेवी आफैमा राजनीतिक व्यक्तित्व भएकाले विष्णुबहादुर बुवाको राजनीतिक विरासतसँग जोडिन पुगे । बाल्यकालमै उनमा राजनीतिक चेतना भरियो । त्यससँगै, दाजु पूर्णबहादुर खड्काको राजनीतिक संस्कारले उनी थप प्रेरित भए ।
पञ्चायतकालमा बहुदलको पक्षबाट वीरेन्द्रनगर नगरपालिकाको मेयरसमेत भइसकेका पूर्णबहादुर २०४८ देखि निरन्तर (२०६४ मा समानुपातिकबाहेक) सुर्खेत क्षेत्र नं. १ बाट संघीय संसदको लागि चुनाव लडे । २०७४ मा वाम गठबन्धनको बेलाबाहेक उनी हरेकपटक निर्वाचित भएका थिए । यसपटक अप्रत्याशित राजनीतिक बदलीबीच नैतिकताको आधारमा निर्वाचन नलड्ने निर्णय लिए । यसले सुर्खेत क्षेत्र नं. १ मा विष्णुबहादुरलाई दाजुको विरासत धान्ने अवस्थामा ल्याइपु¥यायो । पूर्णबहादुरको राजनीतिक संस्कारमा हुर्किएका र उनको सफलताको सारथि बनेका विष्णुबहादुरले उम्मेदवारी पाउनुमा उनको लामो राजनीतिक पृष्ठभूमि, पार्टीको क्षेत्र तथा केन्द्रको सर्वसम्मत निर्णय र उनीप्रति उक्त क्षेत्रका मतदाता र पार्टीपंक्तिको सकारात्मक मनोविज्ञान प्रमुख कारक बन्यो ।
त्यसो त उनी नेपाली कांग्रेस सुर्खेतका उपसभापति पनि हुन् । कुशल संगठक र राजनीतिक व्यवस्थापक भएर पनि उनले उक्त जिम्मेवारी ढिलो गरी प्राप्त गरे । लामो समयदेखि दाजु पूर्णबहादुरको राजनीतिक व्यवस्थापनमा व्यस्त रहेका उनले आफ्नो राजनीतिक जिम्मेवारीलाई भने कहिल्यै प्राथमिकता दिएनन् । बरु दाजुको सफलताका सच्चा सारथि बनिरहे । पूर्णबहादुर खड्का मेयरदेखि उपप्रधानमन्त्रीसम्म र पार्टीको जिल्ला सभापतिदेखि केन्द्रीय कार्यवाहक सभापतिसमम्म बन्नुमा विष्णुबहादुरको भूमिका महत्वपूर्ण मान्ने गरिन्छ । जिल्ला तथा निर्वाचन क्षेत्रमा दाजुको राजनीतिलाई कुशलतापूर्वक सम्हाल्नेदेखि रणनीति निर्माण तथा कार्यान्वयन गर्ने, पार्टी संगठन मजबुत बनाउने र जनसम्पर्क तथा जनपरिचालन गर्नेमा उनी अब्बल देखिए । त्यसैले भन्ने गरिन्छ– विष्णुबहादुरको यस खालको साथ, सहयोग र समर्पणले नै पूर्णबहादुरको राजनीतिक जीवन ‘पूर्ण’ भएको हो ।
विष्णुबहादुरको जीवनमा सामाजिक पाटो अझ सशक्त र उज्यालो छ । लामो समयदेखि मध्यपश्चिम यातायात व्यवसायी संंघको अध्यक्ष रहेका उनी उक्त संस्थामार्फत यातायात व्यवसायीको हक–हितमा खट्नेमात्र नभई समाजसेवामा पनि सक्रिय छन् । मध्यपश्चिम विश्वविद्यालय स्थापनाको बेला उनको नेतृत्वमा यातायात व्यवसायी संघले खेलेको भूमिकाको अहिले पनि चर्चा गरिन्छ । त्यतिमात्र नभई आर्थिक रुपमा विपन्न नागरिकलाई निःशुल्क र सुलभ रुपमा यातायात सेवा प्रदान गर्ने, सामाजिक क्षेत्रमा सहकार्य गर्ने र यातायात व्यवसायीका हक–हितलाई संरक्षण गर्नाले उनी जनस्तरमा लोकप्रिय छन् । जनताका हरेक सुख, दुःखका क्षणमा बलियोसँग साथ दिनु उनको अर्को सबैभन्दा सशक्त पक्ष हो । यसले उनको सामाजिक सम्बन्ध निकै बलियो बनाएको छ ।
दाजु पूर्णबहादुर पदीय जिम्मेवारीमा हुँदा उनले जनता र जनप्रतिनिधि (पूर्णबहादुर) लाई जोड्ने सेतुको काम गरे । जनताका गुनासोहरु सुन्ने र सुनुवाइको पहल गर्ने, स्थानीय स्तरको आवश्यकता पहिचान गर्ने र त्यसलाई पूरा गर्ने अनि विकास निर्माणको लागि जिल्लादेखि केन्द्रसम्म खटिने कार्यमा उनी सधैँभरि लागिरहे । यसले उनी जनप्रतिनिधि नभए पनि जनप्रतिनिधिभन्दा बढी जिम्मेवार बनायो । स्पष्ट बोल्ने र बोलेको कुरा पूरा गर्ने उनको स्वभाव छ । यसले उनीप्रति जनताको भरोसा र विश्वास बढेको छ ।
विष्णुबहादुर सफल व्यवसायी पनि हुन् । उनको जीवनको यस आयामले समाजसेवा र राजनीतिलाई सघाउ पु¥याएको छ । उनी मेडिकल र यातायात व्यवसायमा स्थापित छन् । राजनीतिलाई व्यवसायको रुपमा अभ्यास गर्दा देश अहिलेको अवस्थामा पुगेको ठान्ने गरिन्छ । पैसा खर्च गरेर चुनाव जित्ने अनि जितेपछि पैसा कमाउन भ्रष्टाचार गर्ने प्रवृत्ति झाँगिएको छ । तर विष्णुबहादुरको व्यवसायिक समृद्धिले उनको आफ्नै र दाजु पूर्णबहादुरको राजनीतिक जीवनलाई सफा र पारदर्शी बनायो । पैसा कमाउनको लागि राजनीति गर्नुपर्छ भन्ने गलत मान्यता उनीहरुको जीवनमा कहिल्यै प्रवेश गर्न पाएन । पूर्णबहादुर खड्का आफ्नो लामो राजनीतिक जीवनमा बेदाग रहनुको रहस्य विष्णुबहादुरको व्यावसायिक आधार प्रमुख बन्यो । काठमाडौंमा घरजग्गा नभएका पूर्णबहादुरलाई करिब एक दशक अघिसम्म घरभाडा र रासनपानी विष्णुबहादुरले सुर्खेतबाट पठाउँथे भन्ने कुरा अहिले पनि उत्तिकै चाखपूर्वक चर्चा गरिन्छ । दीवंगत भाइबुहारी सन्जु खड्काले पूर्णबहादुरलाई आफ्नो माइतीले बनाइदिएको घरमा बसालेपछि भने सुर्खेतबाट घरखर्च पठाउनुपर्ने बाध्यता टरेको छ ।
विष्णुबहादुरको राजनीतिक जीवनमा समाजसेवा र व्यवसाय अभिन्नसँग जोडिएका छन् । यसले भ्रष्टाचारबाट कलंकित नेपालको राजनीतिलाई नयाँ सन्देश पनि दिएको छ । राजनीति व्यवसाय होइन, समाजसेवा हो भन्ने मानक स्थापित गरेको छ । पारदर्शी र पवित्र व्यवसायले समाजसेवा र राजनीतिलाई समृद्ध बनाउँछ भन्ने सन्देश पनि दिएको छ । विष्णुबहादुरको जीवनमा राजनीति, समाजसेवा र व्यवसायको समिश्रण यति गाढा छ कि, जसले एक–अर्काको अस्तित्वलाई स्वीकार्दै त्रिआयामिक अब्बल व्यक्तित्व निर्माण गरेको छ ।