पूर्णबहादुरले जितेको यो चुनाव

शुक्रबार, चैत ६, २०८२

जेनजी आन्दोलन (भदौ, २३–२४) ले राजनीतिक दलहरुमध्ये सबैभन्दा ठूलो प्रभाव मुलुकको पुरानो लोकतान्त्रिक दल कांग्रेसमा पार्याे । आन्दोलनको जगमा पार्टीभित्र नेतृत्व परिवर्तनको मुद्दा जोडतोडका साथ उठ्यो । तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले रोक्न खोज्दाखोज्दै पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा पुस अन्तिम साता विशेष महाधिवेशन भइछाड्यो । अन्ततः विशेष महाधिवेशनले देउवालाई सत्ताच्यूत गर्दै थापालाई सभापतिमा चयन गर्याे ।

‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्ने मूलनाराका साथ २१ फागुनको निर्वाचनमा होमिएको कांग्रेसभित्र अहिले चुनावी नतिजाले अर्को हलचल ल्याएको छ । २०१५ सालदेखि निर्वाचनमा सहभागी हुँदै आएकाे कांग्रेसले इतिहासमा सबैभन्दा कमजोर नतिजा (प्रतिनिधिसभाको २७५ मध्ये ३८ सिटमात्र) ल्याएपछि सभापति थापाले नैतिकताको आधारमा राजीनामा दिएका छन् । उनले राजीनामा दिनुपर्थ्याे कि पर्थेन वा उनको राजीनामा स्वीकृत हुन्छ कि हुँदैन, त्यो तपसिलको विषय भयो । तर तथ्य के हो भने अहिले अहिले कांग्रेसले हारेको छ । प्रत्यक्षतर्फका १६५ उम्मेदवारमध्ये १४७ जना पराजित भएका छन् । समानुपातिकका ११० सिटमध्ये २० सिटमात्र पाएको छ ।

पार्टीभित्र जितहारको समिक्षा आ–आफ्नै ढंगले भइरहेको छ । प्रत्यक्षतर्फ उम्मेदवार बनेका वर्तमान र पूर्वपदाधिकारीहरु एकजना पनि निर्वाचित हुन सकेनन् । त्यतिमात्र होइन, २०४८ सालदेखि जित्दै आएको एकमात्र क्षेत्र डडेलधुरा गुमाएको छ भने अन्य नेताहरुका परम्परागत निर्वाचन क्षेत्रमा पनि लज्जास्पद हार व्यहोरेको छ । केही वरिष्ठ नेताहरु राजनीतिक रुपमा मात्र नभई नैतिक हिसाबले पनि पराजित भएका छन् ।

यस परिस्थितिमा निर्वाचनको समग्र (राजनीतिक तथा नैतिक) पक्षलाई केलाउँदा पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पराजयको परिणाम भाग लगाउनु न्यायोचित देखिँदैन । त्यसैले आमपाठकलाई अस्वाभाविक लाग्ने यस लेखको शीर्षक जुरेको हो– पूर्णबहादुरले जितेको यो चुनाव । कसरी ?

नैतिक विजय
विशेष महाधिवेशनपछि तत्कालीन सभापति देउवा पक्षमा रहेका थुप्रै वरिष्ठ नेताहरुले सभापति थापाको हस्ताक्षरको टिकट लिएर चुनाव लड्न मरिहत्ते गरे । अघिल्लो दिन थापाविरुद्ध सर्वोच्च अदालत पुगेका नेताहरु पनि भोलिपल्ट थापाकै हातबाट टिकट लिएर घरतिर लागे । देउवाले समेत चुनाव लड्न इच्छा गरेको भन्ने गरिन्छ । तर उनकै कार्यवाहक सभापति खड्काले नैतिकताको आधारमा चुनाव नलड्ने निर्णय लिए । माघ ६ गते आफ्नो फेसबुकमार्फत उक्त जानकारी दिँदै भने– ‘कांग्रेसको सम्बन्धमा निर्वाचन आयोगले गरेको संविधान, राजनीतिक दलसम्बन्धी ऐन र पार्टी विधान विपरीत गरेको निर्णयको विरुद्धमा सर्वोच्च अदालतमा न्यायका लागि म स्वयं समेतले मुद्दा दर्ता गरेको र अवैधानिक विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति स्वतः अवैधानिक हुने मेरो दाबिसमेत भएकोले निजहरूको निर्णय र हस्ताक्षरबाट जारी गरिने टिकटबाट उम्मेदवार हुनु मेरो जीवनभरिको राजनीतिक मूल्य–मान्यता र नैतिकताको अडानको प्रतिकूल हुने हुँदा यसपटक प्रतिनिधिसभाको निर्वाचनमा उमेदवार नउठ्ने निर्णय गरेको छु ।’

निष्ठाको राजनीतिमा विशिष्ट छबि बनाएका खड्काको यस्तो निर्णय आफैमा नैतिक विजयको मानक बन्यो । उनले चुनावमा टिकट लिन र जित्नको लागि जे पनि गर्नुपर्छ भन्ने मान्यतालाई पराजित गरे ।

PB-Khadka-1-1773987223.jpg
जाेगाए विरासत
खड्काले चुनाव नलड्ने घोषणा गरेपछि कांग्रेसले उनको परम्परागत निर्वाचन क्षेत्र सुर्खेत–१ मा विष्णुबहादुर खड्कालाई उम्मेदवार बनायो । पार्टीका जिल्ला उपसभापतिसमेत रहेका विष्णुबहादुर उनका भाइ हुन् । तर सुर्खेतको राजनीति र सामाजिक क्षेत्रमा विष्णुबहादुरको आफ्नै परिचय र पहिचान स्थापित छ । ‘पूर्णबहादुरको भाइ’ भनेर सीमित गर्नु उनीमाथिको अन्याय हुन्छ ।

देशभर कांग्रेसका गढहरु ढल्दै गर्दा र हेभिवेट उम्मेदवारहरु पराजित हुँदै गर्दा सुर्खेत–१ मा भने विष्णुबहादुरले सानदार जिते निकाले । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका ध्रुवकुमार शाहीलाई ८ हजार ७ मतान्तरले पराजित गरे । खड्काले ल्याएको २६ हजार ८९७ मत कांग्रेसका १८ जना विजयी उम्मेदवारमध्ये दोस्रो धेरै मत (फिरदोस आलमको २९ हजार ५२८ मत) हो । २०४८ देखि सुर्खेत–१ बाट निर्वाचन लड्दै आएका खड्का २०६४ (समानुपातिक) र २०७४ बाहेक निरन्तर निर्वाचित हुँदै आएका थिए । निर्वाचनको चार दिनअघि आफ्नो निर्वाचन क्षेत्रमा पुगेका उनले अन्ततः आफ्नो राजनीतिक विरासतलाई जोगाइछाडे ।

कांग्रेसको इज्जत धान्ने कर्णाली
यसपटक धेरै हदसम्म कर्णालीले कांग्रेसको इज्जत धानिदियो । कर्णालीका १२ निर्वाचन क्षेत्रमध्ये ५ क्षेत्रमा जित निकाल्दै कांग्रेस प्रत्यक्षतर्फ पहिलो दल बन्यो । समानुपातिकतर्फ पनि १ लाख ४१ हजार २३३ मतसहित कांग्रेस पहिलो नै बन्यो । प्रत्यक्षतर्फ नेकपा ४ सिटसहित दोस्रो र समानुपातिकतर्फ रास्ववा १ लाख ३३ हजार ७४९ मतसहित दोस्रो भए । २०७९ को निर्वाचनमा कांग्रेस दोस्रो ठूलो दल थियो ।

यसपटक कर्णालीमा कांग्रेसले समानुपातिक र प्रत्यक्षतर्फ पहिलो स्थान हाँसिल गर्नुमा खड्का र उनका सारथि जीवनबहादुर शाहीको प्रमुख देन रहेको मानिन्छ । अन्य प्रदेश र निर्वाचन क्षेत्रमा कांग्रेसभित्र अन्तर्घातको डरलाग्दो खेल चलिरहँदा कर्णालीमा यी दुई नेताको अगुवाइमा कांग्रेस एकढिक्का देखिन्थ्यो । कालिकोट र जुम्लामा टिकट नपाउँदा पनि अग्रमोर्चामा खटिएका भूपेन्द्रजंग शाही र कान्तिका सेजुवाल हुन् कि सुर्खेतका हृदयराम थानी, सबैमा सांगठनिक एकता देखियाे । पार्टीको शीर्ष नेतृत्वमा पुगेको पूर्णबहादुरको व्यक्तित्वले कर्णालीमा कांग्रेसलाई एकढिक्का बनाइ बलियो पार्न सघाउ पुर्याएको थियो ।

चुकेनन् इमानमा, गरिरहे प्रचार
निर्वाचनको मुखमा निवर्तमान सभापति देउवा डडेलधुरा जान छोडेर उपचारको बहानामा सिंगापुर हिँडे । उनले पार्टी र पार्टीका उम्मेदवारको नाममा सार्वजनिक रुपमा एउटा पनि भोट मागेनन् । यसले उनी आलोचित पनि छन् । उनले २०४८ देखि जित्दै आएको उनको गृहजिल्ला डडेलधुरामा कांग्रेस पहिलोपटक पराजित भएको छ । टिकट पाएका वरिष्ठ नेताहरु आफ्नो जितमै लागिरहे, टिकट नपाएका वरिष्ठ नेताहरु मौन बसे । पूर्णबहादुर भने यसमा पनि चुकेनन् ।

उनले व्यक्तिगत रुपमा देशभरका नेता–कार्यकर्तासँग सम्पर्क–समन्वय गर्दै पार्टी र पार्टीका उम्मेदवारलाई जिताउन आग्रहमात्र गरेनन्, आफैले सार्वजनिक रुपमा मतदानको अपिल पनि गरे । माघ ६ गते निर्वाचन नलड्ने घोषणा गर्दै गर्दा उनले लेखे– ‘पार्टीको जो साथी उमेदवारको रुपमा रुख चुनाव चिन्ह लिएर तपाईँहरुको बीचमा आउनुहुन्छ, सोही उमेदवारलाई एकताबद्व भई निर्वाचन अभियानमा लाग्न र अत्यधिक मतले विजयी गराउनुहुन हार्दिक अनुरोध र अपिल गर्दछु ।’

त्यसपछि उनले फागुन १७ गते देशभरका कांग्रेस र कांग्रेसका उम्मेदवारलाई भोट माग्दै अर्को अपिल गरे । उनले भनेका छन्– ‘फागुन २१ गते प्रतिनिधिसभाको २७५ सिटको लागि निर्वाचन हुँदैछ । निर्वाचनमा म उम्मेदवार किन छैन, त्यसको कारण माघ ६ गते सामाजिक सञ्जालमार्फत सम्बन्धित सबैमा प्रष्ट पारिसकेको छु । फागुन २१ गते बिहान ७ बजेदेखि सुरु हुने मतदानमा  कर्णाली प्रदेशलगायत सातै प्रदेशका देशभरिका सबै मतदान केन्द्रमा जानुभइ प्रनिधिसभाको प्रत्यक्ष र समानुपातिक तर्फका दुबै मतपत्रमा हाम्रो पार्टी नेपाली कांग्रेसको ऐतिहासिक चुनावचिन्ह रुखमा आफ्नो बहुमुल्य मतदान गरी बहुमतका साथ विजयी गराइ दिुनु हुन हृदयदेखि नै हार्दिक बिनम्र अनुरोध गर्दछु ।’

खड्काले फागुन १८ गते पुनः मतदातामा अपिल गर्दै भने– ‘फागुन २१ गते बिहान ७ बजे मेरो मतदाता नामावली भएको सुर्खेत निर्वाचन क्षेत्र नं– १ मेहेलकुनाको सूर्यजोति मावि बुथकेन्द्रमा उपस्थित भई प्रत्यक्ष र समानुपातिक दुबै मतपत्रमा रुख चिन्हमा मतदान गर्दैछु । परम आदरणीय मतदातामा मेरो विशेष अनुरोध– आआफ्नो मतदान केन्द्रमा पुगि तपाईंहरु पनि प्रत्यक्ष र समानुपातिक दुबै मतपत्रमा रुख चुनाबचिन्हमा स्वस्तिक छाप लगाएर लोकतान्त्रिक अधिकार र राष्ट्रिय स्वाभिमानको रक्षाको ऐतिहासिक अभियानमा सहभागी बनौं ।’

PB-Khadka-2-1773987265.jpg
विशेष महाधिवेशनको सबैभन्दा ठूले प्रहार खेप्ने देउवापछि खड्का नै हुन् । तर उनले आफूमाथिको सबै प्रहार र पीडालाई पचाएर पार्टीको पक्षमा मत माग्नु सामान्य राजनीतिक संस्कार र आदर्श होइन ।

उनले निर्वाचनअघि मतमात्र मागेनन्, निर्वाचनपछि मतदातालाई धन्यवाद दिन पनि बिर्सेनन् । उनले फागुन २४ गते आफ्नो फेसबुकमार्फत भनेका छन्– ‘सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसको रुख चुनाबचिन्हमा मतदान गर्नुहुने  हाम्रा परमआदणीय सबै मतदाताहरुमा हृदयदेखि नै  हार्दिक आभार एवं धन्यवाद ज्ञापन गर्दछु ।’

यसरी यसपटकको निर्वाचनमा आफू चुनाव नलडे पनि राजनीतिक र नैतिक रुपमा विजयी बने पूर्णबहादुर खड्का ।

PB-Khadka-1773987183.jpg
 

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०८२  १२:०१
प्रतिक्रिया दिनुहोस्