बाँकेमा सुधांशुले धान्लान् सुशील कोइरालाको विरासत ?

मंगलबार, फागुन ५, २०८२

नेपालगन्ज । पाँच बर्षका लागि ढुक्क भएर संसद पुगेका राजनीतिक दलहरु अढाई बर्षमै फेरि चुनाव लड्नु पर्दा तिनका उम्मेदवारहरुमा उत्साहभन्दा बढी चुनावलाई लिएर चिन्ता देखिएको छ ।

गएको भदौ २३ र २४ को घटनाले संसद भंग भएपछि राजनीतिक दल फेरि जनमत नवीकरणका लागि मत माग्नु पर्ने ठाउँमा झरेका छन् । सरकार मात्रै फेरिएको भए दलहरुलाई उति ठूलो समस्या हुने थिएन । हुन त संसद भंग नगरेर अघि बढ्ने दलहरुको त्यो प्रयास असफल भएदेखि नै चुनौति थपिएको थियो ।

५ वर्षको सासंदको पदावधि यति छिट्टै टुंगिएला भनेर कल्पनासमेत नगरेका दलहरुका लागि आफ्नो पुरानो साख जोगाउनुपर्ने बाध्यता छ । त्यसमाथि निरास भएका मतदाताको मन बुझाउन सक्नुपर्ने विषय पेचिलो भइदिएको छ । अझै भदौ २३ र २४ को भावनालाई आत्मसाथ गर्ने कि त्यसलाई खारेज गर्ने भन्ने विषयमा तत्कालीन सत्ताको मुख्य दल नेकपा एमालेमा एकमत छैन । त्यसैगरि सत्ता साझेदारमा रहेको नेपाली कांग्रेसमा भने फरक नेतृत्वसहित भदौ २३ र २४ को भावनालाई सम्बोधन गर्नुपर्ने धारणाले लय पकडेको देखिन्छ । यद्यपि मतदाता र आमनागरिकको दलहरुप्रतिको धारणामा सकारात्मक प्रभाव बढेको देखिँदैन ।

नेकपा एमालेभित्र भदौ २३ र २४ को भावनालाई सहज रुपमा स्विकार्न नसकेको पक्ष नै मूल नेतृत्वमा छ । कांग्रेसमा भने त्यसको ठिक बिपरीत भदौ २३ र २४ को भावनालाई सम्बोधन गर्नुपर्ने पक्ष जबरजस्त स्थापित भएको परिवेश छ । यो नै चुनावको मूल मुद्दा भएको देखिन्छ ।

यस पटकको चुनावमा घोषित ठूलो गठबन्धन छैन । त्यसमाथि केही नयाँ राजनीतिक अनुहार र दलहरुसँगको प्रतिस्पर्धाले पुरानो भनिने दलहरुलाई चुनौति अवश्य थपेको छ । राजनीतिक दलहरुका चिरपरिचित अनुहारहरु नयाँ भनिएका अनुहारसँग प्रतिस्पर्धा गरिरहँदा चुनावी मुद्दाहरु ओझेल पर्ने सम्भावना बढी छ ।  त्यसैगरी चुनाव चिन्ह कि चुनावी मुद्दा भन्ने विषयमा बहस पेचिलो छ ।

कतिपय चुनावी रणनीतिकारहरु यस पटक चुनाव चिन्ह हाबि हुने बताइरहँदा ग्राउण्डमा भने फरक अवस्था देखिन्छ । आफ्ना उम्मेदवार चुन्न दलको आवद्धतालाई लिएर मतदाताले निर्णय लिने नेपालको परम्परागत शैली हो । तर के यस पटक त्यसो नभएर उम्मेदवार केन्द्रित होलान् त मतदाताहरु ? प्रश्न पेचिलो छ । यही पेंचबाट नतिजा निस्कने हो ।

लोकतन्त्रमा आवधिक निर्वाचनले सत्ता सञ्चालन गर्नेहरु फेरबदल गराउँछ । यो चुनाव समय अगावै हुँदैछ । त्यसको जग भदौ २३ र २४ को जेनजी बिद्रोह हो । यसबीच राजनीतिक दलहरुले गर्ने चुनाव पहिलेको गठबन्धन परिपाटी लगभग भत्किएको अवस्था छ । यसबाट निस्कने नतिजा पनि फरक पक्कै हुनेछ । यसबाट के पनि हुन सक्ला भने सत्तामा पुग्ने र प्रतिपक्षमा बस्नेहरुबीच संसदमा स्वस्थ प्रतिस्पर्धा देखिएला ।

चुनाव तराई–मधेस केन्द्रित छ । राजनीतिक दलहरुले तराई–मधेसका सिटहरुमा ध्यान केन्द्रित गरिरहँदा पश्चिम तराईको बाँके (नेपालगन्ज) पनि ध्रुवीकृत भइरहेको अवस्था छ । बाँकेको क्षेत्र नं. २ कांग्रेसका सभापति रहिसकेका पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको क्षेत्र हो । त्यसपछि मधेस आन्दोलनबाट उदाएका मोहम्मद इस्तियाक राइ र राप्रपाका धवलशमशेर राणा समेत निर्वाचित भएको क्षेत्र हो ।

२०४८ सालमा  कांग्रेसका सुशील कोइरालालाई १४,४०९ प्राप्त थियो । २०५१ को मध्यावधीमा राप्रपाका शान्तिशशसेर राणाले १५,७७१ मत पाएर बिजयी भए । त्यसैगरी २०५६ सालमा १५,२५६ मतका साथ सुशील कोइरालाले क्षेत्रमा कमब्याक गरेका थिए । २०६४ को संविधानसभामा क्षेत्र थप भयो । मधेसी जनाधिकार फोरमका मो. इस्तियाक राइ १९,३९६ मतका साथ विजयी भए । नेपालगन्ज सहर सहित केही भूभाग क्षेत्र नं. ३ मा पर्यो । मधेसी जनाधिकार फोरमका सर्वदेवप्रसाद ओझा १४,९०० मत सहित विजयी भए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सुशील कोइराला फेरि १०,७५३ मतले विजयी भए । २०७४ को संसदीय चुनावमा संघीय समाजवादी फोरमका मो. इस्तियाक राइ २१,५७५ मतका साथ विजयी भए । २०७९ को पछिल्लो संसदीय निर्वाचनमा राप्रपाका धवलशम्शेर राणा २९,५७७ मतले विजयी भए ।

यसपटक उनै सुशील कोइरालाका भतिजा सुधांशु कोइराला, राष्ट्रिय स्वतन्त्र पार्टीका विवेक कुमार श्रेष्ठ, एमालेका मो.इस्तियाक राइ, नेकपाबाट दिपेन्द्र विष्ट, राप्रपाबाट ऋषिराज देवकोटा र जेनजी आन्दोलनबाट उदाएका स्वतन्त्र उम्मेदवार सौभाग्यजंग शाह मुख्य प्रतिस्पर्धी देखिएका छन् ।

क्षेत्र नं. २ मा कांग्रेसका अमरसिंह पुन, एमालेका सुमन मल्ल, रास्वपाका खगेन्द्र सुनार, नेकपाका दिपक जिएम र राप्रपाका तारकसिंह थारु मैदानमा छन् । क्षेत्र नं. १ मा कांग्रेसका नारायणप्रसाद गौंडेल, एमालेका सूर्य ढकाल, रास्वपाका सुरेश थारु, नेकपाको नरेन्द्र पाण्डे र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट प्रदेशसभा सदस्यबाट राजीनामा दिएर कृष्णा के.सी. नमुना मुख्य प्रतिष्पर्धी रहेका छन् ।

बाँकेमा चुनावी सरगर्मी बढेको छ । सुशील कोइरालाको विरासत जोडिएको जिल्लामा युवा नेता शुधांशु कोइरालाको प्रवेश अनि नयाँ राजनीतिक दल रास्वपाको एकखाले लहर अनि मो. इस्तियाक राइजस्ता जनाधार भएका नेता, यसले चुनावी परिणाम कता जान्छ भन्नेमा एकखाले ‘कन्फ्युज्ड’ सिर्जना गरेको छ । त्योभन्दा पनि महत्पूर्ण र रोचक जिज्ञासा स्वाभाविक रुपमा उत्पन्न भएको छ– पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेसका पूर्वसभापति स्वर्गीय सुशील कोइरालाका राजनीतिक विरासत उनका भतिजा युवानेता सुधांशुले धान्न सक्लान् ?

प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  १२:०२
प्रतिक्रिया दिनुहोस्