सोसल मिडिया
हाम्रो बारे
गोपनीयता नीति
प्रधानमन्त्री केपी शर्मा ओली आइतबार संघीय राजधानी काठमाडौंबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत हुँदै हुम्ला पुगे । सरकारमा भएका र नभएका एमालेका नेताहरुको एउटा समूह पनि उनीसँगै हुम्ला पुग्यो । तर, सुर्खेतमै रहेका हुम्लाका प्रदेशसभा सदस्य एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही प्रधानमन्त्रीको टिममा अटाएनन् । कर्णाली करिडोरअन्तर्गत चुवाखोलामा निर्माण भएको पुल उद्घाटन गर्न प्रधानमन्त्री हुम्ला पुगेका थिए । उक्त पुलले हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने भएकाले उद्घाटन समारोह ऐतिहासिक महत्वको हुने नै भयो । त्यसैले, त्यहाँ जीवनबहादुर शाही नदेखिनु अनौठो र अस्वाभिक दृश्य बन्यो । कतिपयलाई लाग्ला– उद्घाटन कार्यक्रममा जीवनबहादुर नभएर के भो त ? देशका प्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्रीले उद्घाटन गरिसके । तर, होइन । जीवनबहादुर आजको यस क्षणको साक्षी बन्न नसक्नु आफैंमा एउटा विडम्बना हो । वर्तमान प्रदेशसभा सदस्य, पूर्वमुख्यमन्त्री, पूर्वसंघीय मन्त्री वा हुम्लाका बासिन्दामात्र भएर उनको उपस्थिति अपरिहार्य ठानिएको होइन । वास्तवमा उनी हुम्लामा सडक सपनाका प्रमुख सूत्रधार हुन्, जसको संघर्ष, साहस र समर्पणले आजको क्षण आएको हो । २७ वर्षअघि फर्किऔं । जति बेला जीवनबहादुर हुम्ला जिल्ला विकास समितिका सभापति थिए । २०५५ सालमा उनले जिल्ला परिषद्बाट हिल्सा–सिमकोट मोटरबाटो निर्माण गर्ने निर्णय गराए । यसको लागि जिविसका साथै विभिन्न संघसंस्थाबाट बजेट जोहो गरे । तर, तत्कालीन सरकारले सिमकोटलाई चीनसँग जोड्ने जीवनबहादुरको कामलाई रुचाएन । अनुमतिबिनै सडक खनेको भन्दै २०५७ सालमा गृह मन्त्रालयले काठमाडौं बोलायो । तीनपटक तारेख धाएपछि बल्ल छुटकारा पाए । जीवनबहादुरले उतिबेला निर्माण थालेको हिल्सा–सिमकोट सडक अहिले कर्णालीको ‘लाइफ लाइन’ बनेको छ । उनकै परिकल्पना विस्तारित हुँदै कर्णाली करिडोर निर्माण भयो । अन्ततः आइतबार देशका प्रधानमन्त्रीले गर्वका साथ भने, ‘सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिएसँगै देश एक–आपसमा जोडिएको छ । यो अत्यन्तै खुसिको क्षण हो ।’ तर, त्यो खुसिको क्षणमा खुसिका सूत्रधार थिएनन् । भौतिक रुपमा उपस्थित समुदायले भिआइपीको भिडमा जीवनबहादुरलाई खोजे । उनी त्यहाँ थिएनन् । आइतबारको कार्यक्रमबारे चासो र सरोकार राख्ने संसारभर छरिएका व्यक्तिले फोटो र भिडियोमा ‘जूम’ गरेर हेरे । उनी त्यहाँ थिएनन् । आखिर जीवनबहादुर त्यहाँ किन गएनन् ? नेपालनीतिको जिज्ञासामा उनको सचिवालयका एक सदस्यले उक्त कार्यक्रम सरकारी भएको र सरकारले नबोलाएको कारण नगएको बताए । ‘कम्तीमा मुख्यमन्त्री (यामलाल कँडेल) ले त सम्झिनुपथ्र्यो, उहाँले पनि वास्ता गर्नुभएन, आपैंm जाने कुरा पनि भएन,’ ती सदस्यले भने । प्रधानमन्त्रीको टोलीमा सरकारी ओहोदा नभएका कतिपय असम्बन्धित व्यक्ति पनि गएका थिए । तर, वर्तमान सत्ता साझेदार दल कांग्रेसका प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका जीवनबहादुर प्रधानमन्त्री–मुख्यमन्त्रीको टोलीमा अटाएनन् । जीवनबहादुरले हुम्लामा सडक समृद्धिका लागि लामो संघर्ष गरेका छन् । हुम्लामा जन्मेर काठमाडौंको बुढानिलकण्ठ हाइस्कुलमा अध्ययन गरेका उनी दूरदृष्टि भएका, आपूmलाई ठिक लागेको कुरामा अडान लिने र चुनौती मोल्ने नेताको रुपमा परिचित छन् । उनको यही स्वभावले चीनसँग जोडिने सडक खन्न प्रेरित गरेको थियो । उनकै अगुवाइमा दक्षिणबाट हुम्लामा सडक नपुग्दै सिमकोट–हिल्सा सडक खनेर उत्तरतिरबाट वैकल्पिक मार्गको खोजी गरिएको थियो । सिमकोटलाई छिटो राष्ट्रिय सडक सञ्जालसँग जोड्नका लागि पनि उनले चुवाखोलामा बेलिब्रिज पुलको पहल गरेका थिए । यो कुरा उनले सामाजिक सञ्जाल फेसबुकमा पनि लेखेका छन् । ‘मा. प्रकाश ज्वाला भौतिकमन्त्री हुँदा पक्की पुलको गति ढिलो हुने भएपछि सदरमुकाम छिटो जोड्नका लागि खार्पुमा बेलिब्रिज निर्माण गर्न सेनालाई लिखित निर्देशन दिएको हुम्ली जनताले कहिल्यै भुल्ने छैनन्,’ उनले आफ्नो फेसबुक पेजमा लेखेका छन् । जीवनबहादुरले सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न विगतदेखि निरन्तर लागिपर्ने सम्पूर्ण सरोकारवालाका योगदानलाई स्मरण गर्दै हुम्लाबासीको तर्फबाट प्रधानमन्त्री ओलीलाई धन्यवाद व्यक्त गरेका छन् ।