सोसल मिडिया
हाम्रो बारे
गोपनीयता नीति
गत भदौ २३–२४ को जेन–जी विद्रोहले गराएको नेतृत्व परिवर्तनको बोध, सभापति शेरबहादुर देउवाको ढल्किँदो उमेर, विद्रोहको क्रममा उनीमाथि भएको सांघातिक हमलाले कमजोर बनेको स्वास्थ्य र पार्टीभित्र उनीविरुद्ध भएको मोर्चाबन्दी । यी सबै प्रतिकूलताले देउवालाई नेतृत्वको भारी बोक्न निकै सकस भइरहेको छ । यस विषम परिस्थितिमा उपसभापति पूर्णबहादुर खड्काले पार्टीलाई संयमतापूर्वक अघि बढाइरहेका छन् ।
‘जेन–जी विद्रोह’ ले पुराना दलको नेतृत्वमा नयाँ अनुहारको अपरिहार्यता बोध गराएपछि दोस्रो कार्यकालको संघारमा पुगेका सभापति देउवा चर्को दवावमा छन् । निकटवर्तीका अनुसार उनी आफ्नो सामु देखिएका विकल्पमध्ये विश्वासपात्रलाई कार्यवाहक सुम्पिएर विश्राम लिने ‘मुड’मा पुगेका छन् । देउवाले उक्त निर्णय लिएमा उपसभापति पूर्णबहादुर खड्का नेपाली कांग्रेसको आठौं कार्यवाहक सभापति बन्नेछन् ।
देउवाकै चाहनामा खड्का जेन–जी विद्रोहपछिको परिस्थिति सम्हाल्न ‘डि–फ्याक्टो’ सभापतिको रुपमा सक्रिय छन् । उनले भदौ २८ र असोज ३ मा केन्द्रीय कार्य सम्पादन समिति बैठकको अध्यक्षता गरिसकेका छन् । भदौ २८ को बैठकमा प्रदेश सभापति, मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेताहरु आमन्त्रित थिए । उक्त बैठकले ‘शान्ति र संविधानको पक्षमा, संसद विघटनको असंवैधानिक कदमको विपक्षमा’ धारणा सार्वजनिक गरेको थियो । असोज २३ र३४ मा भएको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक पनि उनकै अध्यक्षतामा चलेको थियो । खड्काले पदाधिकारी नरहेका शेखर कोइरालालाई बैठकमा बोलाएका छन् ।
जेन–जी विद्रोहले निर्माण गरेको ‘स्पेस’ मा पार्टीभित्र अन्तरसंघर्ष चलिरहँदा खड्काले समन्वयकर्ताको भूमिका निर्वाह गरिरहेका छन् । प्रतिपक्षी खेमाका नेता शेखर कोइरालादेखि सभापति देउवा समूहका कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिलगायत नेतासँग उनी संवादमा देखिन्छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको माग राखेर सुरु गरेको हस्ताक्षर अभियान होस् वा नियमित महाधिवेशनको पक्षमा उठेको आवाज, थकित देउवाको सारथि बनेर परिस्थितिलाई सम्हालिरहेका छन् ।
देउवाले देलान् कार्यवाहक ? कार्यवाहक सभापति पूर्ण–नेतृत्व होइन । सीमित समयको लागि नेतृत्वको अभावमा वा नेतृत्वको सारथिको रुपमा पार्टीलाई सम्हाल्ने प्रमुख जिम्मेवारी बोकेको कर्तामात्र हो । नेपाली कांग्रेसको विधानअनुसार सबै तहका पदाधिकारीको पदावधि चार वर्ष हुन्छ । विशेष परिस्थितिमा एक वर्ष थप हुने प्रावधान छ । कार्यवाहक नेतृत्वले यही पदावधिको केही समय लिने हो ।
सबैभन्दा महत्वपूर्ण पक्ष के हो भने– नेतृत्वले कार्यवाहकको जिम्मेवारी आफ्नो विश्वासपात्रलाई मात्र दिने गर्दछन् । कांग्रेससँग कार्यवाहक सभापतिले विश्वासघात गर्दा २००४ सालमा पार्टी विभाजन भएको तितो इतिहास रहेको छ । उतिबेला विपी कोइराला जेलमा हुँदा कार्यवाहक बनाइएका डिल्लीरमण रेग्मीले उनी रिहा हुँदा पद छोड्न नमानेपछि पार्टी विभाजन भएको थियो ।
सुशील कोइरालाको निधनपछि रामचन्द्र पौडेलले कार्यवाहक पाएको अवस्थाबाहेक अन्य बेला कार्यवाहकको जिम्मेवारी तत्कालीक नेतृत्वका विश्वासपात्र र परिस्थितिलाई सम्हाल्न सक्ने नेताले प्राप्त गरेका छन् । हालको परिस्थितिमा उपसभापति खड्का देउवाका विश्वासपात्र मानिन्छन् । उनी २०५९ मा पार्टी विभाजन भएपछि हालसम्म निरन्तर देउवाको साथमा छन् । देउवा आफूले विश्वास गरेको मान्छेलाई हत्तपत्त घात गर्दैनन् । पूरापूर विश्वास गर्छन् । २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहको राजनीतिक ‘कू’ मा हिरासत परेपछि देउवाले आफू नेतृत्वको नेपाली कांग्रेस (प्रजातान्त्रिक) को कार्यवाहक जिम्मेवारी गोपालमात्र श्रेष्ठलाई दिएका थिए । उनले हिरासतमुक्त भएपछि पनि जिम्मेवारी लिएनन् । गोपालमानले पार्टीको तर्फबाट २०६२÷६३ को आन्दोलनमा नेतृत्व गर्नेदेखि तत्कालीन विद्रोही माओवादीसँगको १२ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । गोपालमानकै नेतृत्वमा पार्टीको महाधिवेशन भयो, अनि देउवाले सभापति निर्वाचित भएर बल्ल कार्यभार सम्हाले ।
जेन–जी विद्रोहपछि कांग्रेसको रुपान्तरणको सवालमा अहिले विशेष महाधिवेशन वा नियमित महाधिवेशनको माग चर्कोसँग उठिरहेको छ । संभवतः आइतबारदेखि सुरु हुने केन्द्रीय कार्य समिति बैठकले यसबारे निर्णय लिनेछ । नेपाली कांग्रेसको आठ दशक लामो जीवनमा हालसम्म एकपटक मात्र २०१४ जेठ १० मा विशेष महाधिवेशन भएको इतिहास छ । प्रजातन्त्र स्थापना भएको सात वर्ष पुग्दासमेत मुलुकमा निर्वाचन हुन नसकिरहेको अवस्थामा कांग्रेसले विशेष महाधिवेशन गरेको थियो । विशेष महाधिवेशनबाट निर्वाचित विपी कोइराला नेतृत्वको कांग्रेसले राजा महेन्द्रलाई आमनिर्वाचन गराउन बाध्य बनाउँदै दुईतिहाइको जनमत पाएको थियो । अहिलेको विशेष महाधिवेशनको माग भने पार्टी रुपान्तरणको मुद्दामा केन्द्रित छ ।
अब– नियमित महाधिवेशन होस् वा विशेष महाधिवेशन, जेन–जी विद्रोहले नेतृत्व परिवर्तन र पार्टी रुपान्तरणको लागि मार्गनिर्देश गरिसकेको छ । देउवाले आगामी महाधिवेशनबाट विश्राम लिने भनेकै थिए । परिस्थितिले नेतृत्व हस्तान्तरणको ‘डेट–लाइन’ अलि अगाडि सारिदिएको छ । अब उनले आफ्नो विश्वासपात्र उपसभापति खड्कालाई महाधिवेशनको समेत कार्यबोझ सम्हाल्ने गरी कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिन ढिलाइ गर्ने छैनन् ।
कांग्रेसको इतिहासमा कार्यवाहक राजनीतिक दलको जीवनमा ‘कार्यवाहक नेतृत्व’ विशेष परिस्थितिमा सिर्जना हुन्छ । आठ दशक लामो इतिहास बोकेको मुलुकको सबैभन्दा ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेस अहिले यही परिस्थितिबाट गुज्रिरहेको छ । अनेक आरोह–अवरोह पार गर्दै यहाँसम्म आइपुगेको कांग्रेसमा नेतृत्वको बदली पनि तीब्र भएको इतिहास छ । २००३ सालमा नेपाली राष्ट्रिय कांगे्रसको बीजबाट अंकुरित नेपाली कांग्रेसमा सोही वर्ष कार्यवाहक सभापतिले नेतृत्व गर्ने परिस्थिति बन्यो ।
कांग्रेसको आह्वानमा २००३ फागुन २१ देखि विराटनगरमा मजदुर आन्दोलन सुरु भयो । आन्दोलनकै क्रममा कार्यकारी अध्यक्ष विपी कोइरालासहित गिरिजाप्रसाद कोइराला, तारिणीप्रसाद कोइराला, मनमोहन अधिकारी, युवराज अधिकारी, गेहेन्द्रहरि शर्मा पक्राउ परे । विपी थुनामा परेपछि मातृकाप्रसाद कोइराला कांग्रेसको कार्यवाहक अध्यक्ष भए । कांग्रेसको जीवनमा कार्यवाहक नेतृत्व सम्हाल्ने उनी पहिलो हुन् ।
कार्यवाहक अध्यक्षको हैसियतमा २००३ चैत २७–२८ मा जोगवनी सम्मेलन गरेका मातृकाले लामो समय नेतृत्व गर्न पाएनन् । उनीमाथि भारत सरकारले मुद्दा चलाएपछि डिल्लीरमण रेग्मी कार्यवाहक अध्यक्ष तोकिए ।
२००४ भदौमा जेलमुक्त भएका विपी दोस्रो महाधिवेशनबाट सर्वसम्मत सभापति निर्वाचित भए । यसबीच काठमाडौंमा नागरिक अधिकार प्राप्तिका लागि युवाहरुले आन्दोलन घोषणा गरे । आन्दोलनलाई उर्जा दिनका लागि कृष्णप्रसाद भट्टराई र केदारमान व्यथितका साथ काठमाडौं आएका विपी फेरि पक्राउ परे । उक्त घटनापछि मातृका दोस्रोचोटि कार्यवाहक अध्यक्ष बनाइए ।
राजा महेन्द्रको २०१७ सालको ‘कू’ ले नेपाली कांग्रेसको जीवनमा अर्को कठिन परिस्थिति निम्त्यायो । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति विपी कोइरालासहित कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह गिरप्mतार भए । व्यक्तिगत कामको सिलसिलामा कलकत्तामा रहेकाले पक्राउ हुनबाट जोगिएका शुवर्ण शमशेर राणालाई कार्यवाहक सभापति बनाइयो ।
२०१७ सालको राजनीतिक ‘कू’ पछि पार्टी प्रतिबन्धित भएकाले तीन दशकसम्म नेपाली कांग्रेसको महाधिवेशन हुन सकेन । राष्ट्रिय एकता तथा मेलमिलाप नीतिका साथ २०३३ पुस १६ मा विपी भारत प्रवासबाट स्वदेश फर्किए । उनीमाथि मृत्युदण्ड माग दावी गरिएका राजकाजसम्बन्धी आठवटा मुद्दा विचाराधिन थिए । दुईवटा सशस्त्र क्रान्तिमा असफलता व्यहोरेपछि हतियारको बाटो छोडेर पार्टीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउने बाटोमा विपी अग्रसर थिए । त्यसैले सशस्त्र क्रान्तिको विपक्षमा रहेका कृष्णप्रसाद भट्टराईलाई २०३४ कात्तिक ५–६ को पटना सम्मेलनबाट कार्यवाहक सभापति बनाइयो ।
राणा र पञ्चायती शासन कालमा नेतृत्व जेल पर्दा वा नेतृत्वमाथि संकट आइलाग्दा पाँचपटक कार्यवाहक सभापति तोकिएको थियो । लोकतन्त्र पुनर्वहालीपछि भने विशेष घटनाक्रममा कार्यवाहक सभापतिको जिम्मेवारी तोकिएको देखिन्छ ।
२०५९ मा नेपाली कांग्रेस विभाजित भई शेरबहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) स्थापना भयो । २०६४ असोज ७ मा नेपाली कांग्रेस र नेपाली कांग्रेस (प्रजातान्त्रिक) बीच पार्टी एकीकरण भएपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा देउवा वरिष्ठ नेता र सुशील कोइराला कार्यवाहक सभापति तोकिए ।
२०६७ असोजमा सम्पन्न बाह्रौं महाधिवेशनबाट सभापति निर्वाचित भएका सुशीलको पदमा रहँदै २०७२ माघ २६ मा निधन भयो । त्यसपछि तत्कालीन उपसभापति रामचन्द्र पौडेल कार्यवाहक सभापति बने । उनकै नेतृत्वमा एक महिनापछि फागुनमा तेह्रौं महाधिवेशन सम्पन्न भयो ।