कांग्रेसमा नेतृत्वका ८ आकांक्षी, कसको जग कति मजबुत ?

मंगलबार, वैशाख ३०, २०८२

भनिन्छ– कांग्रेस सभापति ‘सदाबहार सत्ता’ हो । देशको कार्यकारी कुर्सीमा जोसुकै बसेको भए पनि कांग्रेस सभापतिसँग सधैं सत्ताको समानान्तर शक्ति रहिरहन्छ । मूलतः कांग्रेससँग रहेको स्थायी जनमत सभापतिको शक्तिको प्रमुख स्रोत हो । यसका अतिरिक्त देशको सबैभन्दा पुरानो र ठूलो राजनीतिक दल हुनु, अन्तर्राष्ट्रिय जगतले विश्वास गर्नु, लोकतन्त्रप्रति प्रतिबद्ध हुनुलगायत कारणले उक्त पार्टीको नेतृत्व वजनदार मानिन्छ । त्यसैले अहिले शेरबहादुर देउवापछि को सभापति हुन्छ भन्ने विषय नेपाली राजनीतिको मूलचासो बनेको छ ।

नेपाली कांग्रेसको विधान, २०१७ अनुसार देउवाको कार्यकाल आगामी मंसिरमा सकिन्छ । विधानको धारा ४३ मा ‘पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरुको पदावधि ४ वर्षको हुनेछ’ भनिएको छ । देउवा २०७८ मंसिरमा काठमाडौंमा सम्पन्न १४ औं महाधिवेशनबाट दोस्रो कार्यकालका लागि सभापति निर्वाचित भएका थिए । पदावधि सकिन ६ महिनामात्र बाँकी रहँदा १५ औं महाधिवेशनको कुनै सुरसार देखिँदैन । त्यसैले देउवाले विधानको सोही धारामा उल्लेखित ‘असाधारण स्थिति भएमा केन्द्रीय कार्य समितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्नेछ’ भन्ने प्रावधानको सुविधा लिएर कार्यकाल लम्ब्याउन सक्छन् । यस्तो अवस्थामा कांग्रेसले अबको डेढ वर्षभित्र नयाँ सभापति पाउनेछ । कांग्रेस विधानले एउटा व्यक्ति दुई पटकभन्दा बढी नेतृत्वमा बस्न नपाउने व्यवस्था भएकाले देउवा फेरि सभापति हुने संभावना छैन ।

नेपालनीतिले देउवापछि सभापतिको वजनदार कुर्सीमा बस्ने संभावना बोकेका ८ आकांक्षीको अवस्था विश्लेषण गरेको छ ।

शेखर कोइराला : प्रतिपक्षी धारको नेता, संगठनमा गतिशीलता

Shekhar-koirala-1747101362.png१४ औं महाधिवेशनमा देउवालाई कडा टक्कर दिएका शेखर कोइराला आगामी नेतृत्वका स्वाभाविक दाबेदार हुन् । कांग्रेसभित्र प्रतिपक्षी खेमाको नेतृत्व गर्नु शेखरको लागि उम्मेदवार बन्ने बलियो आधार हो । वर्तमान सभापति शेरबहादुर देउवाको विगतमा गिरिजाप्रसाद कोइराला र सुशील कोइरालासँग लामो अन्तरसंघर्ष चलेको थियो । नेतृत्वको लागि १० औं महाधिवेशनमा गिरिजाप्रसाद र १२ औं महाधिवेशनमा सुशीलसँग चुनावी प्र्रतिस्पर्धा गरेका थिए । अन्ततः १३ औं महाधिवेशनमा सभापति निर्वाचित भए । कांग्रेसको नेतृत्वमा पुग्न संस्थापनको बलियो साथ वा प्रतिपक्षी खेमाबाट प्रभावशाली उपस्थिति आवश्यक पर्छ । शेखरलाई पनि देउवासँगको प्रतिस्पर्धा र प्रतिपक्षी खेमाको नेतृत्वदायी भूमिकाले आगामी महाधिवेशनमा पक्कै फाइदा पुग्नेछ । ७५ वर्षीय शेखर आफ्ना काका गिरिजाप्रसादजस्तै गतिशील र कुशल संगठक मानिन्छन् । कोइराला परिवारको सदस्य हुनु शेखरको लागि थप अनुकूलता बनेको छ । चिकित्सकको पृष्ठभूमि बोकेका शेखर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति भएका थिए । चिकित्सक पेशाबाट अवकाश हुनु १ वर्षमात्र छँदा उनी राजीनामा दिएर पार्टीको २०५१ सालमा पूर्णकालीन राजनीतिमा प्रवेश गरेका थिए । हालसम्म मन्त्री र पार्टीको पदाधिकारी नभएका कोइराला पार्टी वरीयताको २६ औं नम्बरमा रहेका छन् ।

पूर्णबहादुर खड्का : संस्थापनको साथ, निष्ठावान नेताको छवि

PB-Khadka-2-1747101485.JPGपार्टीको केन्द्रीय सदस्य, सहमहामन्त्री र महामन्त्री हुँदै हाल उपसभापति रहेका पूर्णबहादुर खड्का नेतृत्वको स्वाभाविक दाबेदार र आकांक्षी हुन् । उनी वर्तमान पार्टी सभापति शेरबहादुर देउवाका सच्चा सारथि मानिन्छन् । २०५९ सालमा देउवाले पार्टी विभाजन गरेदेखि हालसम्म उनलाई निरन्तर साथ दिने थोरै नेतामध्येमा पर्छन् खड्का । बहालवाला नेतृत्वको निकट हुनु र समर्थनको बलियो संभावना हुनु खड्काको सबल पक्ष हो । सन्तनेता कृष्णप्रसाद भट्टराईको जीवनदर्शनका अनुयायी खड्का कम बोल्ने र बोलेको पूरा गर्ने, सादगी, समन्वयकारी र निष्ठावान नेताको रुपमा परिचित छन् । पटक–पटक मन्त्री र उपप्रधानमन्त्री हुँदासमेत बेदाग रहनु उनको राजनीतिक जीवनको सफलता हो । पार्टीको महत्वपूर्ण जिम्मेवारी सम्हालेको, नेपाली कांग्रेसको विधान–२०१७ लाई नवौं संशोधन २०७५ मार्फत समावेशी, सुदृढ र पूर्णलोकतान्त्रिक बनाउन मस्यौदा समिति संयोजकको रुपमा नेतृत्वदायी भूमिका निर्वाह गरेको, महत्वपूर्ण राष्ट्रिय राजनीतिक घटनाक्रममा नेतृत्व कौशल देखाएको आदि कारणले उनी कांग्रेसवृत्तमा भाबी सभापतिको लागि भरोसायोग्य मानिन्छन् । पार्टीभित्र छुट्टै गुट निर्माण नगरे पनि पार्टी संगठनमा ‘सफ्ट पावर’ भएको नेताको रुपमा परिचित छन् । ७० वर्षीय खड्का पार्टी वरीयताको दोस्रो नम्बरमा छन् ।

गगन थापा : तेस्रो पुस्ताबाट नेतृत्वको दाबेदार, नयाँ समूह निर्माणमा सक्रिय

Gagan-Thapa-1747101543.jpg
विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिको परिदृश्यमा पदार्पण गरेका महामन्त्री गगन थापा परिवर्तनका पर्याय मानिन्छन् । उनले आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । युवापंक्तिको बलियो साथ हुनु र पार्टीभित्र आफ्नो छुट्टै समूह निर्माण गर्न सक्नु थापाको सबल पक्ष हो । १२ औं महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको टिमबाट महामन्त्रीमा चुनाव लडेका थापा १४ औं महाधिवेशनमा शेखर कोइरालाको टिमबाट महामन्त्री निर्वाचित भएका हुन् । राष्ट्रिय मुद्दामा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नसक्ने क्षमता भएका उनले कांग्रेसभित्र आशाको उज्यालो किरण छर्न सफल भएका छन् । आगामी महाधिवेशमा त्यसले थापालाई पक्कै पनि अनुकूलता प्रदान गर्नेछ । उनी पार्टीले निर्णय नगर्दै २०५९ मा गणतन्त्रको नारा बोकेर सडकमा उत्रिएका थिए । यसबापत राजकाजको मुद्दा खेप्नुपरेको थियो । ४९ वर्षीय थापा पार्टी वरीयताको चौथो नम्बरमा रहेका छन् ।

प्रकाशमान सिंह : पारिवारिक ‘लिगेसी’, काठमाडौंमा पकड

PrakashMan-Shrestha-1747101602.jpgचौधौं महाधिवेशनमा छुट्टै समूह निर्माण गरेर सभापतिमा उम्मेदवारी दिएका प्रकाशमान सिंहले तेस्रो धेरै ३ सय ७१ मत ल्याएका थिए । उनले दोस्रो चरणमा शेरबहादुर देउवालाई समर्थन गर्दै १२ औं महाधिवेनबाट उनीसँग बिग्रिएको सम्बन्ध सुधार्न सफल भए । पार्टी विभाजनको बेला देउवा नेतृत्वको नेपाली कांग्रेस (प्रजातान्त्रिक) को उपसभापति रहेका सिंह २०६७ असोजमा सम्पन्न १२ औं महाधिवेशनमा सुशील कोइरालाको टिमबाट महामन्त्री निर्वाचित भएका थिए । उनले देउवाको टिमबाट उम्मेदवार बनेका विमलेन्द्र निधिलाई पराजित गरेका थिए । २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको पारिवारिक–राजनीतिक विरासत बोकेका उनको लागि देउवासँग सुध्रिएको सम्बन्धले सभापतिमा उम्मेदवार बन्ने बल प्रदान गरेको छ । हाल एमाले–कांग्रेस गठबन्धन सरकारमा उपप्रधानमन्त्री रहेका सिंहले १४ औं महाधिवेशनमा सुजाता कोइराला, विश्वप्रकाश शर्मालगायत नेतालाई समेटेर समूह निर्माण गरे पनि अहिले उक्त समूह अस्तित्वमा देखिँदैन । काठमाडौं कांग्रेसको सभापति हुँदैे निर्वाचित महामन्त्री र पार्टी एकताबाट उपसभापति बनेका सिंह आगामी नेतृत्वको बलियो दावेदार हुन् । काठामाडौंको पार्टी राजनीतिमा उनको बलियो पकड रहेको मानिन्छ । ७० वर्षीय सिंह पार्टी वरीयताको १६ औं नम्बरमा रहेका छन् ।

विमलेन्द्र निधि : तराई–मधेसको साथ, ‘लिगेसी’ संयोजनकर्ता

Bimalendra-Nidhi-1747101664.jpg
नेपाल विद्यार्थी संघमा शेरबहादुर देउवाको उत्तराधिकारी बनेका विमलेन्द्र निधि पार्टीमा पनि देउवाको उत्तराधिकारी हुने आँकलन गरिएको थियो । तर १४ औं महाधिवेशनमा उनी देउवासँगै प्रतिस्पर्धामा उत्रिए । पहिलो चरणको निर्वाचनमा २ सय ४९ मतसहित चौथो स्थान प्राप्त गरेका उनले दोस्रो चरणमा देउवालाई समर्थन गरेका थिए । निधि लामो समयसम्म देउवाका राजनीतिक सारथि थिए । पार्टी विभाजनको बेला पनि सँगसँगै रहेका उनलाई देउवाले १३ औं महाधिवेशनमा आफू सभापति निर्वाचित भएपछि उपसभापतिमा मनोनीत गरेका थिए । निधिले पार्टीको नीति तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख भएका बेला देशभरि आफ्नो समूह निर्माणको प्रयास गरेका थिए । कांग्रेसको बलियो जनाधार भएको तराई–मधेस क्षेत्रबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय राजनीतिमा स्थापित हुनुले निधिलाई आगामी महाधिवेशनमा लाभ पुग्ने विश्वास गरिन्छ । पार्टीका एकजना संस्थापक नेता महेन्द्रनारायण निधिको पुत्र भएको कारण उनले पारिवारिक–राजनीतिक विरासतको अतिरिक्त लाभ पाउनेछन् । निधिले १४ औं महाधिवेशनबाटै वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिको ‘लिगेसी’ लाई संयोजन गरेर नेतृत्वमा स्थापित हुने प्रयास गरेका थिए । उनले वीपीपुत्र शशांक कोइराला र गणेशमानपुत्र प्रकाशमान सिंहसँग पटक–पटक बैठक बसेर आफूहरु तीन जनामध्ये एकजना सभापतिको उम्मेदवार हुनुपर्ने प्रस्ताव तयार पारेका थिए । १४ औं महाधिवेशनमा सफल हुन नसकेको उक्त सुत्रलाई उनले १५ औं महाधिवेशनमा कार्यान्वयन गर्ने प्रयास गरिरहेका छन् । ६९ वर्षीय निधि पार्टी वरीयताको १७ औं नम्बरमा रहेका छन् ।

कृष्णप्रसाद सिटौला : तेस्रो धारको अभ्यासकर्ता, देउवाको साथ पाउन प्रयासरत

Sitaula-1747101731.jpeg

पार्टीको १३ औं महाधिवेशनबाट छुट्टै गुट निर्माण गरी तेस्रो धारको नेतामा स्थापित भएका ७६ वर्षीय कृष्णप्रसाद सिटौला आगामी नेतृत्वको आकांक्षी हुन् । १३ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेर दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई सहयोग गरेपछि निर्णायक हैसियत बनाएका उनको अहिले पनि पार्टीभित्र छुट्टै समूह रहेको छ । १४ औं महाधिवेशनमा आफू उम्मेदवार नबनेर प्रदीप पौडेललाई महामन्त्रीमा अघि सार्दै देउवालाई सहयोग गरेका थिए । गिरिजाप्रसाद कोइरालाको विश्वासपात्र बनेर माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन होस् वा गृहमन्त्रीको भूमिकामा राजा ज्ञानेन्द्रलाई शान्तिपूर्ण रुपमा नारायणहिटीबाट बहिर्गमन गराउन, उनको कुटिलताको चर्चा हुने गर्दछ । १२ औं महाधिवेशनमा पार्टीको महामन्त्री भएका उनी अहिले राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता छन् । पार्टीभित्र छुट्टै समूह निर्माण गरेर निरन्तर शक्ति अभ्यास गरिरहेका उनी देउवाको समर्थनमा उम्मेदवार बन्ने प्रयासमा देखिन्छन् । यही योजनाअनुरुप उनी केही दिनअघि देउवानिकट शीर्ष नेताहरुलाई लिएर बुढानिलकण्ठ पुगेका थिए । सिटौला पार्टी वरीयताको १९ औं स्थानमा रहेका छन् ।

गोपालमान श्रेष्ठ : १२ बुँदे सम्झौताका साक्षी, नेतृत्वका जेष्ठ आकांक्षी

gopal-man-1747101809.jpegकांग्रेस सभापतिका आकांक्षीमध्ये उमेरको हिसाबले ८२ वर्षीय गोपालमान श्रेष्ठ सबैभन्दा जेष्ठ नेता हुन् । उनी पार्टी विभाजनको बेला शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस (प्रजातान्त्रिक) का उपसभापति थिए । सोही समयमा उनले करिब २ वर्षसम्म पार्टीको कार्यवाहक सभापति भएर देउवालाई सघाएका थिए । कार्यवाहकको हैसियतमा उनले तत्कालीन माओवादी विद्रोहीलाई शान्ति प्रक्रियामा ल्याउने माओवादी र सात दलबीच भएको १२ बुँदे सम्झौतामा हस्ताक्षर गरेका थिए । कठिन समयमा पार्टीको बागडोर सम्हालेको र देशलाई शान्ति प्रक्रियामा प्रवेश गराउने प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेको कारण पनि आगामी महाधिवेशनमा उनको दाबी बलियो देखिन्छ । उनी पार्टी एकतापछि पनि एकीकृत कांग्रेसको उपसभापति भएका थिए । श्रेष्ठले पछिल्लोपटक राष्ट्रपति बन्ने आकांक्षा राखे पनि सफल भएनन् । पार्टी विभाजनदेखि देउवासँग रहेका उनले अहिलेसम्म साथ छोडेका छैनन् । पार्टीको वरिष्ठ नेताको दाबी गर्दै आएका श्रेष्ठ पार्टी वरीयतामा भने १५ औं नम्बरमा रहेका छन् ।

शशांक कोइराला : वीपीपुत्र, पार्टी सत्तासँग सधैं निकट

Shashanka-Koirala-1747101863.jpg
नेपाली कांग्रेसका संस्थाक नेता एवं पथप्रदर्शक वीपी कोइरालाका पुत्र हुनु शशांक कोइरालाको सबैभन्दा ठूलो अनुकूलता हो । १३ औं महाधिवेशनमा उनको समूहका सभापति उम्मेदवार रामचन्द्र पौडेल पराजित हुँदा उनी महामन्त्रीमा निर्वाचित भएका थिए । फरक समूहबाट निर्वाचित शेरबहादुर देउवासँग महामन्त्रीको रुपमा उनको कार्यकाल सौहार्दपूर्ण रह्यो । १४ औं महाधिवेशनमा दाजु शेखर कोइराला सभापतिमा लड्दा उनी मौन बसे, जसको कारण देउवालाई पुनः सभापति निर्वाचित हुन सहज भयो । पार्टी सत्तासँग सधैं निकट रहने शशांकको स्वभाव रहेको छ । सुशील कोइरालाको कार्यकालमा होस् वा देउवाको कार्यकालमा, उनले नेतृत्वसँग निकट रहेर राजनीतिक लाभ लिइरहे । नेत्ररोग विशेषज्ञको पृष्ठभूमि भएका शशांक २०४६ सालको परिवर्तनपछि मात्र पार्टीको सक्रिय राजनीतिमा प्रवेश गरेका हुन् । सक्रिय राजनीतिमा लागेको छोटो अवधिमै उनी पार्टीभित्रका थुप्रै सिनियरलाई पछि पार्दै २०७२ फागुनमा सम्पन्न १३ औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थिए । यसकै बलमा उनी आगामी महाधिवेशनबाट सभापति बन्ने प्रयासमा छन् । ६७ वर्षीय शशांक पार्टी वरीयताको २० औं नम्बरमा रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  ०७:५२
प्रतिक्रिया दिनुहोस्