भक्तबहादुर हेडसर : त्रिवेणी बालज्योति आविका नयाँ ‘आर्किटेक्चर’

बिहीबार, जेठ १५, २०८२

जुम्ला । योजना सानो होस् कि ठूलो, त्यसको कार्यान्वयन प्रमुख पक्ष हो । स–साना योजनाले पनि ठूलो सफलताको आधार निर्माण गर्दछन् । यसको बलियो उदाहरण हो– जुुम्लाको तातोपानी गाउँपालिका–४, हाँकुमा अवस्थित त्रिवेणी बालज्योति आधारभूत विद्यालय । नेपालका अधिकांश सामुदायिक विद्यालयहरुले ठूला र महत्वाकांक्षी कार्ययोजना बनाएर कार्यान्वयनमा असफल भइरहेका बेला त्रिवेणी बालज्योतिले पृथक पहिचान बनाएको छ । विद्यालयले हेर्दा साना देखिए पनि निकै महत्वपूर्ण योजना बनाएर कार्यान्वयनमा सफलता पाएको छ ।

विद्यालयले पञ्चवर्षीय कार्ययोजना (२०८१–२०८५) बनाएको छ, जसमा १९ वटा क्रियाकलाप समेटिएका छन् । प्रधानाध्यापक भक्तबहादुर रावतका अनुसार कार्ययोजनामा समेटिएका सबै कामहरु सम्पन्न गर्न सकिने खालका छन् । ‘हामीले असंभव कामहरु कार्ययोजनामा राखेका छैनौं, स–साना कामबाट ठूलो उपलब्धी दिन सकिन्छ भन्ने हाम्रो बुझाइ छ,’ उनले भने ।

Karyayojana-1748502761.jpg
 त्रिवेणी बालज्योति आधारभूत विद्यालयको पञ्चवर्षीय कार्ययोजना २०८१–२०८५

सानो कामबाट ठूलो उपलब्धी दिने त्यस्तै एक काम हो– ‘चिल्ड्रेन फन पार्क’ निर्माण । विद्यालयले उक्त कामलाई कार्ययोजनाको पहिलो नम्बरमा राखेको छ । ३ लाख ५० हजार रुपैयाँ लागत अनुमान गरिएको पार्क निर्माणको काम अन्तिम  चरणमा पुगेको छ । किर्डाक नेपालको सहयात्रा परियोजनाको सहयोगमा उक्त योजना कार्यान्वयन भइरहेको प्रअ रावतले बताए । ३ हजार ५ सय रुपैयाँ लागत अनुमान गरिएको दोस्रो काम हो– ‘एक झण्डा एक बगैंचा कार्यक्रम’ । आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने गरी तय गरिएको उक्त योजना पनि कार्यान्वयनमा गइसकेको छ । त्यसैगरी ‘हरीत विद्यालय’ अवधारणालाई सार्थक तुल्याउन वृक्षारोपण, थोपा सिँचाइ र बार निर्माण कार्यक्रम राखिएको छ । उक्त कामको लागि २ लाख ५० हजार रुपैयाँ लागत अनुमान गरिएको छ । यसको लागि गाउँपालिका र किर्डाक नेपालबाट सहयोग जुटाउने भनिएको छ । ‘हामीले अहिलेसम्म करिब ६० प्रतिशत कार्यक्रम कार्यान्वयन गरिसकेका छौं,’ प्रअ रावतले भने, ‘प्रत्येक वर्ष कार्ययोजना अद्यावधिक गर्दै अघि बढिरेका छौं ।’

प्रअ रावतले ‘हेलो भलाकुसारी’ कार्यक्रम निकै फलदायी भएको बताए । कार्ययोजनाको सातौं नम्बरमा रहेको यस कार्यक्रमको लागि २ हजार रुपैयाँ लागत अनुमान गरिएको छ । बालबालिको विद्यालयमा नियमितताबारे जानकारी गराउन, बालबालिकाले घरमा देखाउने व्यवहारबारे बुझ्न, बालबालिकाको सिकाइ क्षमताबारे जानकारी गराउन अभिभावकसँग भलाकुसारी गरिरहेको प्रधानाध्यापक रावतले बताए । अभिभावकसँग भेट हुँदा वा विद्यालयका प्रअ वा शिक्षकले फोन गरेर भलाकुसारी गरिएको उनले बताए । सोही अन्तर्गत महिनाको अन्तिम दिन अभिभावक र शिक्षकबीच संवादका लागि ‘शिक्षक–अभिभावक फोन इन’ कार्यक्रम सञ्चालन गरिएको उनले बताए । ‘विद्यार्थीहरु विद्यालयमा कति सिक्न सक्छन् भन्ने सबै अभिभावकलाई जानकारी नहुन सक्छ, विद्यार्थीको सिकाइ उपलब्धीबारे अभिभावकलाई जानकारी दिनु हाम्रो दायित्व हो,’ प्रअ रावतले भने, ‘बालबालिकाले घरमा गर्ने व्यवहार र विद्यालयमा गर्ने व्यवहार फरक हुन सक्छ, उनीहरुको व्यवहारअनुसार विद्यालयमा सिकाउन सकियोस् भनेर भलाकुसारी सुरु गरिएको हो ।’ यसले गर्दा विद्यार्थीको विद्यालयमा नियमित उपस्थित हुने दर र अभिभावकको विद्यालयप्रति चासो बढेको उनले रावतले बताए ।

विद्यालयले सिकाई उललब्धीमा वृद्धि गर्न परम्परागत परीक्षा प्रणालीलाई विस्थापित गरेको छ । यसको सट्टा थिमगत मूल्यांकन गरिन्छ । कमजोर विद्यार्थीको लागि अतिरिक्त कक्षाको पनि व्यवस्था गरिन्छ ।

School-1748502707.jpg
 त्रिवेणी बालज्योति आधारभूत विद्यालय

त्रिवेणी बालज्योतिका पञ्चवर्षीय कार्ययोजनाभित्र समेटिएका १९ वटा कार्यक्रम हेर्दा निकै सामान्य देखिन्छन् । तर तिनको कार्यान्वयनले विद्यालयको मुहार फेरिन थालेको छ । २ वर्षअघि प्रधानाध्यापक बनेका रावत यस विद्यालयका नयाँ ‘आर्किटेक्चर’ हुन् । उनले छोटो अवधिमै पूर्वाधार निर्माणमा देखिने गरी काम गरेका छन् । प्रदेश सरकारको २९ लाख सहयोगमा विद्यालयको पर्खाल निर्माण गरेका छन् । ‘राम्रो काम गर्ने विश्वास दिलाएपछि सरकारले सहयोग ग¥यो, अहिले विद्यालय सुरक्षित घेराभित्र रहेको छ,’ उनले भने, ‘त्यही बजेटबाट हाम्रो अनुरोधमा निर्माण पक्षले पर्खालको उचाइ थप्नुका साथै जाली हालेको छ, गेट पनि निर्माण गरेको छ ।’

विश्व खाद्य कार्यक्रमको सहयोगमा दिवाखाजाका लागि भान्साघर र चुल्होको पनि व्यवस्था गरिएको छ । समुदायसँग पनि राम्रो समन्वय र सहकार्य भएको छ । ‘कुनै बैठक गर्नुछ वा श्रमदान गर्नुछ भनेर अभिभावकलाई खबर गर्नेवित्तिकै विद्यालयमा उपस्थित हुनुहुन्छ, विद्यालय व्यवस्थापन समितिबाट विद्यालयको अनुगमनसँगै सहकार्य राम्रो भएकाले मलाई काम गर्न सहज भएको छ,’ उनले भने । अहिले समुदायमा रहेको ‘एच–वान’ युवा क्लबले खोलाको बालुवाबाट संकलित रकमको केही प्रतिशत विद्यालयलाई सहयोग गर्ने गरेको छ । २०८० सालमा २ लाख रुपैयाँ दिएकोमा २०८१ को रकम आउन बाँकी रहेको उनले बताए । ‘यहाँको समुदायको निकै सहयोगी र सकारात्मक छ, यसैले गर्दा हामीले स्कुललाई तीब्र रुपमा परिवर्तन गरिरहेका छौं ।’

विद्यालयमा प्रारम्भिक बालविकास कक्षादेखि ५ कक्षासम्म पढाइ हुन्छ । विद्यालयमा ६३ बालबालिका अध्ययनरत छन् । दरबन्दीअनुसार शिक्षक पर्याप्त भए पनि तहगत शिक्षक अपुग हुँदा केही समस्या विद्यालयले भोगेको छ । तैपनि शिक्षाको गुणस्तर र पूर्वाधारतर्फ भने विद्यालयको गुणस्तर बढ्नेक्रममै छ । ‘म आएदेखि विद्यालयलाई राम्रो बनाउन समन्वय भइरहेको छ, विद्यालय व्यवस्थापन समिति र अभिभावकको पूर्णरुपमा सहयोग छ,’ प्रधानाध्यापक रावतले भने, ‘यसमै विकास साझेदार गैरसरकारी संस्थाहरुको सहयोगले पनि हौसला थपेको छ, विद्यालयलाई छिट्टै पालिकास्तरको नमुना बनाउने योजनामा छौं ।’

विद्यालयमा भवन पुराना भए पनि कक्षकोठा भने पर्याप्त छन् । प्रधानाध्यापक रावतले विद्यालयलाई सूचना, सञ्चार र प्रविधिमैत्री बनाउने लक्ष्य लिएका छन् । विद्यालयलाई सञ्चारमैत्री बनाउन र विद्यार्थीलाई प्रविधि सिकाउने उद्देश्यअनुसार थप कक्षाकोठा निर्माणका लागि पनि पहल भइरहेको उनले बताए ।

विद्यालयलाई नमुना बनाउने योजनाका साथ अहिले समयानुकूल बालमैत्री पूर्वाधार पनि निर्माणको क्रममा छन् । ‘चिल्ड्रेन फन पार्क’ निर्माणकार्य अन्तिम चरणमा छ । ‘गाउँका सरकारी विद्यालयमा बालबालिकाका लागि रमाउने पूर्वाधार नहुँदा उनीहरुलाई विद्यालय आउन मन नलाग्ने हुन्छ, हामीले गैरसरकारी संस्थासँग सहयोग मागेर फन पार्क बनाउन थालेका छौं,’ प्रअ रावतले भने ।

तातोपानी गाउँपालिकामा शिक्षा क्षेत्रमा कार्यरत संस्था किर्डाक नेपालका फिल्ड अधिकृत रमेश शाहीले प्रअ रावतको इच्छाशक्ति र कार्यकौशलताले विद्यालयप्रति समुदाय र सरोकारवालाको विश्वास बढ्दै गएको बताए । ‘एउटा प्रधानाध्यापक सक्षम भयो भने विद्यालयको सकारात्मक परिवर्तन असंभव छैन भन्ने गतिलो उदाहरण त्रिवेणी बालज्योति आवि बनेको छ,’ उनले भने ।

विद्यालयको सेवा क्षेत्रभित्र १ सय ५६ घरधुरी छन् । अधिकांश अभिभावकले आफ्ना छोराछोरी सहरी–बजारमा पढाउने गरेका छन् । केही वर्षभित्र विद्यालयलाई समुदायका सबै बालबालिका र अभिभावकको लागि गुणस्तरीय शिक्षाको लागि विश्वासको धरोहर बनाउने लक्ष्य लिइएको उनले बताए ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १३:०१
प्रतिक्रिया दिनुहोस्