सोसल मिडिया
हाम्रो बारे
गोपनीयता नीति
शान्तिका अग्रदूत गौतम बुद्धको आँगनबाट हामी नेपालीले हाम्रै छिमेक र मित्र देश बीचको युद्ध हेरिरहेका छौं । यति भन्दै गर्दा भारत र पाकिस्तान सिमानामा आमने–सामने भइरहेका छन् । अनि गोर्खाली सेनामा रहेका नेपाली नागरिक दुई देशबीचको सिमानामा एक पक्षबाट लड्नका लागि तयारी अवस्थामा छन् ।
भारत र पाकिस्तान बीचको सम्बन्ध पछिल्लो कश्मिर घटनापछि तनावग्रस्त अवस्थामा छ । पछिल्ला समाचारहरुले भारत र पाकिस्तानबीच फेरि युद्धको अवस्था आएको पो हो कि भन्ने चित्रण गरिरहेका छन् । यी दुबै देशबीच शान्ति कायम गर्न खाडीका राष्ट्रहरुले प्रयास गरिरहेको भन्ने चर्चासमेत छ । ‘यदि कोही मानिस मर्नसँग डराउँदिन भन्छ भने कि त्यो झूट बोलेको हुनुपर्छ, कि त उ गोर्खाली हो ।’ भारतीय सेनाका फिल्ड मार्सल शैम मनिक शाको यो भनाइ यस आलेखमा किन जोड्न खोजिएको हो भन्दा जब–जब भारत–पाकिस्तानमा युद्धको बादल मडारिन थाल्छ तब नेपालीको बहादुरीको कथा चर्चा हुने गर्छ ।
भारतीय सेनामा नेपाली गोर्खा सैनिकको संख्या करिब ३२ हजार रहेको छ । भारतीय सेनामा गार्खा राइफल्ससहित गोर्खाली सेनाको ६ वटा रेजिमेन्ट छन् । तर पछिल्लो ४ वर्षमा भारतीय सेनामा नेपाली भर्ती भएको छैन । भारत सरकारले लागू गरेको अग्निपथ योजनाको विवादले नेपाली भर्ती रोकिएको छ । गोर्खा रेजिमेन्टको सुरुवात सन् १८१५ मा भएको थियो, जुन ब्रिटिस सेनाको मातहत थियो ।
सन् १९४७ मा भारत र पाकिस्तान छुट्टिएपछि ब्रिटिस भायसराय लर्ड माउन्टबेटनले सेनाको भागबन्डा गराएका थिए । तीमध्ये २ लाख ६० हजार हिन्दु तथा शिख सेना भारतको भागमा र १ लाख ४० हजार मुस्लिम सेना पाकिस्तानको भागमा परेका थिए । त्यही समय गोर्खा सेनाको केही हिस्सा ४ बटालियन ब्रिटिसहरुको अधिनमा गएका थिए । ६ बटालियन भारतमा रहेका थिए । भारत र पाकिस्तानबीच सीमामा सबैभन्दा बढी गोर्खा सैनिककै परिचालन गरिएको हुन्छ । युद्ध हुने अवस्था आयो भने पहिलो पंक्तिमा नेपाली युवाहरु भारतको पक्षबाट लड्नेमा रहन्छन् ।
भारत–पाकिस्तान युद्धमा गोर्खा सेनाको परिचचर्चा हुँदै गर्दा स्वयं ती दुई देशका लागि युद्ध कति बोझिलो छ भन्ने पनि उत्तिकै मननयोग्य छ । कार्गिल युद्ध (सन् १९९९) का विषयमा पाकिस्तानका पूर्वसेना प्रमुख जनरल पर्वेज मुर्सरफले लेखेको आत्मकथा ‘इन द लाइन अफ फायर’ मा सेनाको मनस्थिति र हताहतीको विषयमा उल्लेख छ । कार्गिल युद्धबाट राजनीतिक दबाब भोगिरहेका तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले त ४ जुलाई १९९९ मा अमेरिका पुगेर तत्कालीन राष्ट्रपति बिल क्लिन्टनसँग सहयोगको याचना गरेका थिए । क्लिन्टनका एकजना रणनीतिक सहयोगी ब्रुस राइडिलले ‘अमेरिकाज डिप्लोमेसी एण्ड १९९९ कार्गिल समिट’ शीर्षककमा उक्त घटनालाई दस्तावेजीकरणसमेत गरेका छन् ।
भारत र पाकिस्तानबीच भएको सन् १९७१ को लडाइँपछि पनि समस्या उस्तै थिए । सन् १९९८ मा दुवै देशले परमाणु परीक्षण गरेपछि स्थिति झनै बिकराल बन्दै गयो । १९९९ फेब्रुअरीमा तनाब कम गर्न दुवै देशबीच लाहोर सम्झौता भयो । दुई देशका विद्यमान समस्या समाधानका लागि भारतीय प्रधानमन्त्री अटल बिहारी बाजपेयी र पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफ बार्ताका माध्यमबाट समस्या हल गर्न एकमत भएका थिए । उक्त सम्झौताको मूलमर्म जम्मु कश्मिर समस्यालाई बार्ताबाट समाधान गर्ने भन्ने थियो । तर त्यसो हुन सकेन, उल्टै त्यही वर्ष कार्गिल युद्ध भयो । १९९९ मेबाट सुरु भएको युद्ध करिब २ महिनासम्म चल्यो । १९९९ जुलाई २६ मा युद्ध टुंगियो ।
सन् १९९९ को कार्गिल युद्धका दौरान पाकिस्तानी जनरल अजिज खान र चीनमा रहेका सेनाका अधिकारी पर्वेज मुर्सरफबीच भएको टेलिफोन संवाद भारतीय इन्टेलिजेन्सले इन्टरसेप्ट गर्दै रेकर्ड गरेको विषय चर्चामा आइरहन्छ । उक्त कुराकानीलाई लिखितम गरेर भारतले पाकिस्तानलाई बुझाएको थियो । त्यो संवादको लिखित दस्तावेज लिएर एकजना पत्रकार आरके मिश्रालाई कुटनीतिक स्तरको सुविधासहित पाकिस्तान पठाइएको दाबी भारतीय पक्षको रहँदै आएको छ । मिश्रालाई त्यही प्रयोजनका लागि अष्ट्रेलियाबाट भारत झिकाइएको थियो ।
राजनीतिक नेतृत्वले पाकिस्तानी सेनालाई साथ दिन नसककेको भन्दै मुर्सरफले नवाज सरिफको आलोचनासमेत गरेको त्यही घटनाबाट उनै मुर्सरफले सरिफलाई अपदस्थ गरेको बताइन्छ । त्यसअघि सन् १९८४ मा सियाचिन क्षेत्रमा भारतले गरेको कब्जालाई लिएर मुर्सरफ आहत थिए । उतिबेला मुर्सरफ सेनाका मेजर थिए ।
यतिबेला भारत र पाकिस्तानबीच काश्मिरलाई लिएर भइरहेको विवाद हाम्रा अघिल्तिर छ । आतंकवाद विश्वको लागि ठूलो चुनौती बनेको छ । हालै मात्र कश्मिरको पहलगाम क्षेत्रमा भएको आतंकवादी हमालापछि दुवै देशबीच सम्बन्ध बिग्रिएको छ । उक्त घटनामा एकजना नेपाली सुदीप न्यौपानेसहित २६ जनाको ज्यान गएको थियो ।
हुन त सन् १९४७ मा भारत स्वतन्त्र हुँदै गर्दा र पाकिस्तान जन्मदै गर्दादेखिको समस्याका रुपमा कश्मिर समस्या आइसकेको थियो । सन् १९४७ ताका राजा रजौटाहरुलाई भारततर्फ वा पाकिस्तानतर्फ गाभिने स्वतन्त्रता थियो । यद्यपि कतै विलय नहुने मान्यता लिएको जम्मु कश्मिर अन्ततः २४ अक्टुबर १९४७ मा भारतमा विलय भयो । हिन्दू राजा भएको मुस्लिम बाहुल्यताको त्यो राज्य भारतमा विलय हुँदा बखतको समस्या हो, अहिलेको भारत–पाकिस्तान विवाद । भारत र पाकिस्तानको कश्मिर विवादलाई लिएर संयुक्त राष्ट्र संघले संयुक्त राष्ट्र आयोग गठन गरेको थियो । १ जनवरी १९४९ मा युद्धविराम भएको जम्मु कश्मिरमा जनमत संग्रह गराउने भन्दै राष्ट्रसंघले दुवै तर्फको सैन्य कारबाही स्थगित गराइदिएको थियो । तत्कालका लागि निकास निस्किएको त्यही विषय दीर्घकालमा दुई देश बीचको अर्बुद रोगभन्दा घातकसिद्ध भएको छ । यो विषयको प्रभाव र असरस्वरुप दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सम्मेलन समेत आयोजना हुन सकिरहेको छैन । यसबीच भारतले सार्क देशका लागि भिसा छुट योजनाअन्र्तगत पाकिस्तानका नागरिकलाई दिँदै आएको सुबिधा बन्द गरेको छ । यसका साथै सन् १९६० को सिन्धु जल सम्झौतासमेत भारतले स्थगित गरेको छ । पाकिस्तानले पनि आफ्नो हवाई क्षेत्रमा भारतीय जहाजलाई प्रवेश निषेध गरेको छ ।
यसबीच भारत र पाकिस्तानले आआफ्नो पक्षबाट एक–अर्काे देशका नागरिकले पाउने अन्य सेवा–सुविधा स्थगित गरिरहेका छन् । भारत–पाकिस्तान विवादको केन्द्रमा आतंकवाद रहेको छ । दुई देशको सीमाक्षेत्र एलओसी लाइन अफ कन्ट्रोलमा प्रायः घटना भइरहन्छन् । यसरी भइरहने घटना र भारतमा हुने घटनाले दुवै देशबीच सम्बन्ध तनावपूर्ण रहन्छ । भारत र पाकिस्तानबीच मुख्यगरी सियाचिन क्षेत्रको अधिकारका विषयमा विवाद छ, जो संसारकै सबैभन्दा उचाइमा रहेको युद्धग्रस्त क्षेत्र हो । कश्मिर क्षेत्रको विवाद पनि एउटा नसुल्झिएको लामो विवादित क्षेत्र हो । एक्च्युअल ग्राउण्ड पोजिशन लाइन (एजीपीएल) एउटा त्यस्तो रेखा छ, जो भारत र पाकिस्तानका सेनालाई एक–अर्काबीच विभक्त रहन सुझाउँछ । करिब १ सय १० किलोमिटर लामो यो रेखाले पाकिस्तान अधिनस्त कश्मिरलाई भारतसँग छुट्याउँछ, जुनचाहिँ लाइन अफ कन्ट्रोल नियन्त्रण रेखाको उत्तरी अन्तिम बिन्दुबाट सुरु हुन्छ । त्यही सीमालाई लिएर पाकिस्तान र भारतबीच कश्मिरको मुद्दा बल्झिन्छ । त्यही क्षेत्रको बिन्दू ९८४२ र ९८४७ को अद्यावधिक नभएको पाकिस्तानको दाबी छ । भारत त्यसलाई अस्विकार गर्छ । सन् १९७१ को भारत–पाकिस्तान लडाइँपछि पनि यो विवाद जारी छ । सोभियत संघ र अमेरिकाबीच चलेको विवादमा पाकिस्तानले यो क्षेत्रमा आफ्नो ध्यान दिन नसक्दा भारतले सन् १९८२ ताका सियाचिन क्षेत्रमा आफ्नो नियन्त्रण कायम गरेको पाकिस्तानको आरोप रहने गर्छ ।
भारत र पाकिस्तानबीच प्रमुख समस्याका रुपमा रहेको सियाचिन क्षेत्र काराकोर पर्वतीय शृंखलाको उचाइबाट सुरु हुन्छ, जहाँ करिब ३५ वर्षदेखि दुई देशका सेना आमने–सामने भइरहन्छन् । पाकिस्तानले यो विषयमा सिम्ला सम्झौताको आधारमा सीमाबाट सेना फर्काउन भारतलाई आग्रह गरिरहन्छ । सिम्ला सम्झौता सन् १९७१ को भारत र पाकिस्तानको युद्धपछि सन् १९७२ मा भएको सम्झौता हो । त्यही सम्झौताका आधारमा एलओसीसमेत निर्धारण भएको थियो । पछिल्लोपटक पाकिस्तानले उक्त सम्झौता स्थगित भएको बताएको छ ।
सन् १९७१ मा पूर्वी पाकिस्तानबाट बंगलादेशको उदय भयो । त्यसकै सेरोफेरोमा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी र पाकिस्तानी राष्ट्रपति जुल्फिकार अलि भुट्टोबीच भारतको सिम्लामा एउटा सम्झौता भएको थियो । उक्त सम्झौलाई दुई देशबीच शान्ति कायम गर्न तेस्रो पक्षको उपस्थितिबिना भएको महत्वपूर्ण कदम मानिन्छ । सिम्ला सम्झौता सन् १९७२ २ जुलाईको राति तयार भएर भोलिपल्ट हस्ताक्षर भएको थियो ।
कश्मिरमा भएको आतंककारी घटना लगत्तै भारतले सिन्धु जल सम्झौता स्थगित भएको घोषणा गरेको छ । भारत र पाकिस्तानबीच सिन्धु नदीको पानी बाँडफाँटलाई लिएर विश्व बैंकको मध्यस्ततामा तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु र पाकिस्तानी राष्ट्रपति अयुव खाँबीच पाकिस्तानको कराँचीमा सन् १९६० सेप्टेम्बर १९ मा भएको थियो ।