हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धको जग कति मजबुत ?

बिहीबार, वैशाख १८, २०८२

विश्व समुदायको गतिशीलता र अन्तर्राष्ट्रिय परिवेशमा भइरहने परिवर्तनले विश्व ध्रुवीकृत भइरहन्छ । प्रभाव, सत्ता र सक्षमताले विश्व समुदाय विभिन्न कालखण्डमा फरक–फरक ढगंले अघि बढिरहेको हुन्छ, जो कुनै न कुनै राजनीतिक स्वरुपमा देखा पर्दछन् । एकजना विद्वान् थोम्सनको विचारमा अन्तर्राष्ट्रिय राजनीति भनेको राज्यहरुको द्वन्द्व र ती अवस्था तथा संस्थाहरु जसले यस्ता सम्बन्धहरुलाई चर्काउँछन्, त्यही अध्ययन नै अन्तर्राष्ट्रिय सम्बन्ध हो ।

हामी हाम्रा राजनीतिक उद्देश्य पूरा गर्न कतिपय अवस्थामा अन्तर्राष्ट्रिय सम्बन्ध र भूमिकालाई लिएर विभक्त हुने गर्छौं । त्यसो हुनुमा आन्तरिक र बाह्य कारणहरु रहन्छन् । खासगरी यस्ता विषयमा राज्य र शक्तिको महत्वपूर्ण भूमिका रहन्छ । सबै नीतिको मूल नीति राजनीति हुन्छ । त्यसकै आधारमा अरु सम्बन्धहरु विकसित हुने गर्छन् भन्ने मान्यता छ ।

पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्धपछिको विश्वमा अन्तर्राष्ट्रिय सम्बन्धको भूमिका छरपष्ट भएको थियो । त्यो कालखण्डमा इतिहास र तत्कालीन परिवेशलाई बढी महत्वका साथ उठाइएको हुन्थ्यो । गोर्वाचोभको नीतिले सोभियत संघ सुरक्षित हुन नसकेको कालखण्डयता अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा धारणाहरु बदलिएर व्यापकता पाउन सुरु भएको पृष्ठभूमि हो । अन्तर्राष्ट्रिय सम्बन्धको जग भनेको हरेक देशले अपनाउने विदेश नीति वा परराष्ट्र नीति हो । विदेश नीतिलाई लिएर जोजेफ फ्रयाकेंल भन्छन्, ‘दीर्घकालीन लक्ष्यलाई विचारको आधारमा निर्धारण गर्दा छोटो समयका नीतिमा र वास्तविक नीतिबीच खाडल रहन्छ ।’

नेपालको परराष्ट्र नीतिका मार्गदर्शक सिद्धान्तहरु देशको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता, राष्ट्रहित, राष्ट्रिय सम्मान र प्रतिष्ठा कायम राख्नु नै हुन् । त्यससँगै पञ्चशील, सार्वभौमिक समानता, पारस्परिक सम्मान र लाभ सँगसँगै अन्तर्राष्ट्रिय कानुन, विश्व शान्ति, न्याय, समानता, लोकतन्त्र, मानव अधिकार, प्रेस स्वतन्त्रता, विधिको शासन, असंलग्नता, संयुक्त राष्ट्रसंघको वडापत्रको भावनासहित पर्यावरणीय सन्तुलन कायम गर्नेजस्ता विषयहरु पर्दछन् । नेपालको विदेश नीतिले द्विपक्षीय सन्धि तथा सम्झौताहरुको समेत अक्षरशः पालना गर्ने नीति अवलम्बन गर्दछ । यसका साथै बहुपक्षीय सहयोगको पैरवी पनि नेपालको परराष्ट्र नीतिको मर्म हो । क्षेत्रीय सहयोगदेखि आर्थिक कुटनीतिसम्म नेपाल विश्व समुदायसँग सँगसँगै गतिशील छ । कतिपय सन्दर्भमा जटिल विषयमा नेपाल पनि ‘ट्रयाक टू’ नीतिको प्रयोग गर्ने गर्दछ । जोखिम न्यूनीकरणका उपाय र कानुनी व्यवस्थाको प्रयोग पनि नेपालको परराष्ट्र नीतिको अभिन्न पाटो हो । त्यसका अलावा सार्वजनिक कुटनीति र संस्थागत सुदृढीकरणका क्षेत्रमा समेत नेपालले आफ्ना धारणा सार्वजनिक गर्ने गर्दछ ।

परराष्ट्र नीतिलाई लिएर जर्ज मोडेल्स्कीको भनाइ यहाँ राख्नु सान्दर्भिक छ । उनी लेख्छन्, ‘विदेश नीति भनेको अन्य राज्यका व्यवहारलाई परिवर्तन गर्नु र आफ्नै क्रियाकलापलाई पनि वातावरणसँग तालमेल गराउनका लागि समुदायहरुले विकसित गरेको व्यवस्थित गतिविधि हो ।’

अहिलेको विश्वलाई सन्तुलनमा राख्न अन्तर्राष्ट्रिय स्तरमा भएका विभिन्न सन्धि तथा सम्झौताहरुले ठूलो भूमिका खेलेका छन् । मूलतः राजनीतिक सन्धि, आर्थिक तथा व्यापारिक सन्धिले विश्व समुदायलाई सन्तुलनमा राख्न भूमिका खेलेका हुन्छन् । त्यसका अलावा विश्वव्यापी, क्षेत्रीय र द्विपक्षीय सन्धि सम्झौताहरु विषेश महत्वका साथ हुन्छन् । विभिन्नखाले सन्धिहरुको महासन्धि सम्बन्धी व्यवस्था भिएना अभिसन्धि सन् १९६९ एउटा महत्वपूर्ण आधार हो । अन्तर्राष्ट्रिय मान्यताको एउटा महत्वपूर्ण उपलब्धीका रुपमा जब एकपटक एउटा कुनै राज्यले मान्यता पाउँछ र त्यो अन्तर्राष्ट्रिय समुदायको सदस्य भइसक्छ । त्यसको मान्यता समाप्त गर्न पाइँदैन । तर अहिले पनि कुनै पनि राज्य त्यतिबेला आफ्नो अस्तित्व गुमाउँछ, जतिबेला उसले स्वेच्छिक प्रक्रिया र बलपूर्वक कब्जा जमाउँछ । उदाहरणका लागि इथोपिया, लाटभिया र एस्टोनिया बेग्लाबेग्लै र उस्तै उदाहरणका लागि अझै पनि स्मरण गरिन्छ । विश्व समुदायले सोभियत संघको विघटन देखिसकेको छ । त्यतिमात्रै होइन, पूर्वी युरोपमा समाजवाद उन्मूलन भएका घटनाको साक्षी पनि विश्व समुदाय छ । शित युद्धको समाप्ति र आणविक शक्ति सम्पन्नतासँगै विश्व बहुध्रुवीय रुपमा समेत अघि बढेको अवस्था रह्यो । विश्व समुदाय पछिल्लो रसिया र युक्रेन अनि इजरायल र प्यालेस्टाइन समस्यासम्म आइपुगेको छ । दक्षिण एसियामा भारत र पाकिस्तान, चीन र भारत, म्यानमार र भारत कतिपय सन्दर्भमा नेपाल र भारत, पाकिस्तान र बंगलादेश सम्बन्धहरु क्रमशः कमजोर बन्दै गइरहेको अवस्थामा छन् ।

यी सन्दर्भहरु लेख्दै गर्दा नेपालका आफ्ना अन्तर्राष्ट्रिय सम्बन्धका दायराहरु पनि ख्याल गर्नै पर्ने हुन्छ । यस बीचमा भारत र पाकिस्तानबीच काश्मिरलाई लिएर भइरहेको विवाद हाम्रो अघिल्तिर छ । आतंकवाद विश्वका लागि ठूलो चुनौति भएर आइरहेको परिवेश छ । हुन त सन् १९४७ मा भारत स्वतन्त्र हुँदै गर्दा सँगै पाकिस्तान जन्मदै गर्दा देखिको समस्याका रुपमा काश्मिर समस्या आइसकेको थियो । सन् १९४७ ताका राजा–रजौटाहरुलाई भारततर्फ वा पाकिस्तानतर्फ गाभिने स्वतन्त्रता थियो । यद्यपि कतै विलय नहुने मान्यता लिएको जम्मु कश्मिर अन्ततः २४ अक्टुवर १९४७ मा भारतमा विलय भयो । हिन्दू राजा भएको मुस्लिम बाहुल्यताको त्यो राज्य भारतमा विलय हुँदा बखतको समस्या हो, अहिलेको भारत र पाकिस्तान विवाद । १ जनवरी १९४९ मा युद्धविराम भएको जम्मु–कश्मिरमा जनमत संग्रह गराउने भन्दै संयुक्त राष्ट्र संघले दुवै तर्फको सैन्य कारवाही स्थगित गराइदिएको थियो । यो विषयको प्रभाव र असर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सम्मेलनसमेत आयोजना हुन सकिरहेको छैन । विश्व समुदाय अर्थतन्त्र र आणविक शक्तिका आधारमा आ– आफ्नै हितका खातिर ध्रुवीकृत भइरहेको मानचित्रले भविष्यको विश्व कसरी अगाडि बढ्ला ? वा शान्ति कायम रहन सक्ला ? अथवा युद्धको चपेटामा पर्दै जाला ? यी विषय यतिबेलाको अन्तर्राष्ट्रिय चासोका रुपमा रहेको छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  २२:१६
प्रतिक्रिया दिनुहोस्