भारतमा पेट्रोल–डिजेल अभाव हल्ला मात्रै, तेल आपूर्ति सामान्य रहेको दाबी

बुधबार, चैत ११, २०८२

भारतीय तेल कम्पनीहरूले पेट्रोलियम पदार्थको अभावबारे फैलिएका हल्ला अस्वीकार गरेका छन्।

भारतको सरकारी स्वामित्वको तेल कम्पनी इन्डियन आयल कर्पोरेशन लिमिटेडले बुधबार एक विज्ञप्ति जारी गर्दै देशमा पेट्रोल वा डिजेलको ‘कुनै कमी नरहेको’ स्पष्ट पारेको छ। कम्पनीले सामाजिक सञ्जालमा पेट्रोलियम पदार्थको अभावसम्बन्धी फैलिरहेका अफवाहहरूमा विश्वास नगर्न र त्यस्ता सामग्री अगाडि नबढाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

कम्पनीले विज्ञप्तिमा भनेको छ, ‘अनलाइनमा फैलिरहेका अफवाहहरूले अनावश्यक चिन्ता पैदा गर्न सक्छन् र सामान्य आपूर्ति प्रणालीमा अवरोध ल्याउन सक्छन्। इन्डियन आयलका आउटलेटहरू पूर्ण रूपमा भण्डारित छन् र नियमित रूपमा सञ्चालनमा छन्। हामी नागरिकहरूलाई आग्रह गर्छौं कि अतालिँदै अनावश्यक खरिद नगर्नुहोस् र केवल प्रमाणित जानकारीमा मात्र विश्वास गर्नुहोस्।’

यसैबीच, हिन्दुस्तान पेट्रोलियम कर्पोरेशन लिमिटेड (एचपीसीएल)ले पनि यस्तै विज्ञप्ति जारी गर्दै देशभर पेट्रोल, डिजेल र एलपीजीको कुनै अभाव नभएको जनाएको छ। कम्पनीका अनुसार इन्धनको आपूर्ति सामान्य रहेको छ र पर्याप्त भण्डार उपलब्ध छन्। तेल कम्पनीहरूले सर्वसाधारणलाई अफवाहबाट सचेत रहन र आवश्यक परिमाणमा मात्र इन्धन खरिद गर्न अपिल गरेका छन्।

प्रकाशित मिति: बुधबार, चैत ११, २०८२  १७:२०
प्रतिक्रिया दिनुहोस्