फेवाताल किनारमा गृहमन्त्री सुधन गुरूङकै २० रोपनी जग्गा

गृहमन्त्री गुरूङले आफ्नो भनेर नक्सामा देखाएको जग्गा फेवातालको पारिपट्टी अनदु गाउँमा पर्छ, जाे तालको पानीसँगै जोडिएको छ ।
आइतबार, चैत २२, २०८२

पोखरा महानगरपालिकाले सर्वोच्च अदालतको आदेश अनुसार फेवातालबाट ६५ मिटरभित्र रहेका संरचना भत्काउन सुरू गरेको छ, जसमा गृहमन्त्री सुधन गुरूङको २० रोपनी जग्गा पनि परेको छ। गृहमन्त्री गुरूङले नै पोखरा महानगरका मेयर धनराज आचार्यसँगको कुराकानीमा फेवाताल किनार आफ्नो २० रोपनी जग्गा भएको बताएका थिए।

गुरूङले आफ्नो जग्गा मापदण्डभित्र पर्ने थाहा पाएपछि 'मेरो जग्गा जाने भए जाओस्, मापदण्ड अनुसार अघि बढ्नुस्' भनेर पोखराका मेयर आचार्यलाई भनेका थिए। मेयर आचार्यसँग गत बिहीबार सिंहदरबारमा भएको भेटघाटमा गृहमन्त्री गुरूङले नक्सा देखाएर आफ्नो जग्गा रहेको बताएका हुन्। 'गृहमन्त्रीज्यूले फेवातालमा आफ्नो जग्गा भएको नक्सा देखाउनुभयो, मैले यो त तालको मापदण्डभित्र पर्छ भनेर जानकारी गराएँ,' मेयर आचार्यले भने, 'उहाँले मेरो जग्गा जाने भए पनि ठिक छ, अतिक्रमण हटाउनुस् भन्नुभयो।'

गृहमन्त्री गुरूङले नक्सामा देखाएको जग्गा तालको मापदण्डभित्र मात्र पर्दैन, त्यो दूषित रूपमा दर्ता भएको खुलेको छ। यस्ता दूषित रूपमा दर्ता भएको जग्गाको दर्ता खारेज गर्ने सर्वोच्चको आदेश छ। जग्गाधनीले मुआब्जा पनि पाउँदैनन्। मेयर आचार्यले यसबारे पनि गृहमन्त्रीलाई जानकारी गराएका थिए। 'तपाईंले देखाउनुभएको जग्गाको दर्ता नै खारेज हुन्छ, मुआब्जा पनि पाउनुहुन्न भनेर मैले गृहमन्त्रीज्यूलाई भनेँ,' मेयर आचार्यले भने, 'उहाँ यसमा पनि सहमत हुनुहुन्छ।'

गृहमन्त्री गुरूङले यो जग्गा कहिले किनेका हुन् भन्ने खुलेको छैन। उनले जेनजी आन्दोलनपछि पोखरामा आयोजित एक सम्मान कार्यक्रममा भाग लिन आउँदा पनि फेवाताल किनारको जग्गाबारे कुरा गरेका थिए। सम्मान कार्यक्रमपछि सहभागीहरूसँग अनौपचारिक कुराकानी गर्दै उनले 'तालपारि मेरो पनि जग्गा छ' भनेका थिए।

प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले जारी गरेको शासकीय सुधारका १०० दिने कार्यसूचीमा फेवातालको मापदण्डभित्रका संरचना ९० दिनभित्र भत्काउन सुरू गर्ने र तालको जलाधार क्षेत्र संरक्षण प्रक्रिया थाल्ने उल्लेख छ। सरकारले कार्यसूचीमै राखेर तालको अतिक्रमण हटाउन प्राथमिकता दिएकाले अतिक्रमित संरचना हटाउन थालेको मेयर आचार्यले बताए। 'फेवाताल जोगाउन सरकारले सय दिनको कार्यसूचीमा राखेर जुन तदारूकता देखाएको छ, यसले हामीलाई काम गर्न सजिलो बनाएको छ,' उनले भने, 'मापदण्डभित्र गृहमन्त्रीज्यूकै जग्गा पनि पर्ने रहेछ। उहाँले आफ्नो जग्गा जान्छ भने जाओस् भनेपछि हामीलाई काम गर्न सजिलो भएको छ।'

मेयर आचार्यका अनुसार गृहमन्त्री गुरूङले आफ्नो भनेर नक्सामा देखाएको जग्गा फेवातालको पारिपट्टी अनदु गाउँमा पर्छ। यो जग्गा तालको पानीसँगै जोडिएको उनले जानकारी दिए।

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  १७:२३
प्रतिक्रिया दिनुहोस्