पश्चिम एसिया संकट

एकै दिन १६ हजार नेपालीको अनलाइन दर्ता

बिहीबार, फागुन २१, २०८२

पश्चिम एसियामा विकसित सुरक्षा अवस्थाबीच त्यहाँ रहेका नेपाली नागरिकहरूको विवरण संकलन गर्न सुरु गरिएको अनलाइन दर्ता प्रणालीमा एकैदिन करिब १६ हजार जनाले आफ्नो नाम दर्ता गराएका छन् ।

परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले हिजो (मंगलबारदेखि) अनलाइन पोर्टल सञ्चालनमा ल्याउँदै आफ्नो विवरण दर्ता गराउन गराउन अनुरोध गरेको थियो । उक्त अनलाइन दर्ता प्रणालीमा हालसम्म करिब १६ हजार नेपालीले आफ्नो विवरण दर्ता गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले एक जारी गरेको सूचना अनुसार अनलाइन प्रणाली सञ्चालमा ल्याएको एक दिनमै उक्त संख्यामा नेपालीहरुले आफ्नो विवरण दर्ता गराएका हुन् ।

उक्त दर्ता प्रणालीलाई सबैका लागि थप सरल, सहज र सर्वसुलभ बनाउँदै व्यापक पहुँच सुनिश्चित गरिने मन्त्रालयले जनाएको छ । यस प्रयोजनका लागि नियोगहरूलाई त्यहाँस्थित नेपाली संघसंस्था, समुदाय तथा गैरआवासीय नेपाली संघ लगायतसँग समन्वय गरी सूचना प्रवाह सुदृढ गर्न निर्देशन दिइएको छ । प्राप्त विवरणका आधारमा आवश्यक सहयोगको प्रकृति तथा प्राथमिकता निर्धारण गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।

इजरायल अमेरिका र इरानबीच भइरहेको हवाई आक्रमण जारी छ । इरानले पश्चिम एसियाली देशमा रहेका अमेरिकी सैन्य बेस क्याम्पहरुमा मिसाईल आक्रमण गर्दै आएको छ । जसले गर्दा ति क्षेत्रमा रहेका १७ लाखभन्दा बढी नेपालीको सुरक्षा चाँसो बढेको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  ०८:४१
प्रतिक्रिया दिनुहोस्