चुलाचुलीका ६ वटै वडा कार्यालय जोड्ने सडक कालोपत्रे

आइतबार, भदौ २, २०८१

Kalopatre-Sadak-Chulachuli-1723958047-1723958942.jpg
 

चुलाचुली गाउँपालिकाका अधिकांश मुख्यसडक कालोपत्र भएका छन्।

संघीय सरकार र प्रदेश सरकारसँगको साझेदारी एवं गाउँपालिकाको बजेटमा ६ वटै वडा कार्यालय जोड्ने सडक कालोपत्र गरिएको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिए।

चुलाचुली गाउँपालिकाले सबै टोलमा कालोपत्र सडक पुर्‍याउने उद्देश्यले थालेको पहिलो चरणको योजना पूरा गरेको हो।

सबै वडामा कालोपत्र सडक पुर्‍याउने पहिलो चरणको योजना सम्पन्न भएको गाउँपालिका अध्यक्ष केरुङले बताए।

चुलाचुली गाउँपालिकाले छवटै वडा जोड्ने सडक कालोपत्र गर्ने योजना कार्यान्वयन गरेको हो।

चुलाचुली गाउँपालिकामा हालसम्म विभिन्न सडकका १५ किलोमिटर सात सय मिटर सडक कालोपत्र भएको छ। पहिलो चरणमा उक्त दूरीमा कालोपत्र गरिएको हो।

गाउँपालिका अध्यक्ष केरुङका अनुसार आर्थिक वर्ष २०८०/८१ मा मात्र पाँच किलोमिटर तीन सय मिटर सडक कालोपत्र गरिएको छ।

२ किलोमिटर सय मिटर सडक गाउँपालिकाको आफ्नै स्रोतबाट कालोपत्र गरिएको हो । तीन किलोमिटर दुई सय मिटर सडक संघीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा कालोपत्र गरिएको अध्यक्ष केरुङले जानकारी दिए।

वडा नं १ स्थित चुलाचुली मार्गको ८ सय मिटर सडक गाउँपालिकाको स्रोतबाट एक करोडको लगानीमा कालोपत्र सम्पन्न गरिएको छ।

सोही सडकको अर्को ७५० मिटर सडक सङ्घीय सरकारसँगको ५० प्रतिशत साझेदारीमा ८७ लाख ३८ हजारको लगानीमा कालोपत्र गरिएको छ।

त्यस्तै वडा नं २ स्थित हिमाली मार्गको एक किलोमिटर तीन सय मिटर सडक कोशी प्रदेश सरकारसँगको ३५ प्रतिशत साझेदारीमा ९९ लाख ९५ हजार ७८२ लगानीमा कालोपत्र गरिएको अध्यक्ष केरुङले बताए।

सो सडकको चार किलोमिटर एक सय मिटर सडक पटकपटक गरी अघिल्लो आर्थिक वर्षमा कालोपत्र गरिएको थियो।

 वडा नं ५ स्थित चुलाचुली मार्गको एक किलोमिटर २१५ मिटर सडक सङ्घीय सरकारसँगको ५० प्रतिशत साझेदारीमा ८७ लाख ३६ हजार २३६ को लगानीमा कालोपत्र गरिएको छ।

सो सडकको अर्को एक किलोमिटर दुई सय मिटर सडक अघिल्लो आव २०७९/८० मा कालोपत्र गरिएको थियो।

त्यसैगरी वडा नं ६ स्थित चुलाचुली मार्गको एक किलोमिटर ३ सय मिटर सडक गाउँपालिकाको स्रोतबाट एक करोड ८७ लाखको लगानीमा सुरु भएको कालोपत्र अन्तिम चरणमा पुगेको चुलाचुली गाउँपालिकाका इन्जिनियर क्षितिज दाहालले जानकारी दिए।

इन्जिनयर दाहालका अनुसार कालोपत्रका लागि ड्रेन, सबबेस र बेस हाल्ने काम सकिएको छ । वडा नं ३ र ४ कार्यालय जोड्ने सडक अघिल्लो वर्षहरूमा कालोपत्रे गरिएको थियो । वडा नं ३ मा आव २०७९/८० मा चुलाचुली मार्गको एक किलोमिटर सात सय मिटर र वडा ४ मा सोही मार्गको पटकपटक गरी आव २०७९/८० सम्ममा तीन किलोमिटर ४ सय मिटर सडक कालोपत्र गरिएको थियो।

पूर्वपश्चिम लोकमार्ग र चुलाचुलीको माथिल्लो भेगमा निर्माणाधीन मदन भण्डारी लोकमार्गलाई जोड्ने लक्ष्यका साथ गाउँपालिकाले सडक कालोपत्र गर्न प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष केरुङले बताए।

‘वडा कार्यालय पुग्ने वडाका सडकलाई कालोपत्र गर्न कतिपय सडक सङ्घीय र प्रदेश सरकारसँगको साझेदारीमा कालोपत्र गरिएका छन् भने कतिपय सडक गाउँपालिकाले आफैं बजेट विनियोजन गरेर पिच गरिएको छ,’ अध्यक्ष केरुङले भने, ‘आगामी दिनमा पनि सडक कालोपत्र गर्नेछौं।’

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्