सोसल मिडिया
हाम्रो बारे
गोपनीयता नीति
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टा सिल गर्न सरकारसमक्ष सिफारिस गरेको छ । आयोगका सदस्य सगुन शमशेर जबरा नेतृत्वको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले फागुन २१ का लागि तय भएको निर्वाचनअन्तर्गत नेपाल-भारत र नेपाल-चीन सीमा नाका सिल गर्न सिफारिस गरिएको हो ।
भारतसँग नेपालको खुला सीमा छ । करिब १ हजार ८ सय ८० किलोमिटर लम्बाइमा नेपाल-भारत सीमा कायम छ । त्यसैगरी नेपाल-चीन सीमा नियन्त्रित अवधारणाअन्तर्गत छ । दुवै देशका नागरिक भिसा र सीमावर्ती जिल्लाका हकमा स्थानीय प्रशासनले जारी गरेको अस्थायी पासका आधारमा आवागमन गर्न पाइन्छ । आयोगले निर्वाचनका बेला अत्यावश्यक वस्तु तथा सेवाको हकमा जाँच गराएर र बाँकीको हकमा आवागमन पूर्ण रूपमा बन्द गराउन सिफारिस गरिएको हो ।
निर्वाचन सुरक्षा तयारीअन्तर्गत नै माघमै सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बलका वाहिनीपति (डीआईजी) स्तरीय बैठकले नेपालको निर्वाचनलाई ध्यानमा राखेर सीमानाका ७२ घण्टा सिल गर्ने सहमति गरिसकेका छन् ।