हेलिप्याड निर्माणमा अनियमितता आरोप, क्यानका महानिर्देशक अधिकारीमाथि भ्रष्टाचार मुद्दा दायर

बुधबार, मंसिर १७, २०८२

भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार अधिकारीलाई पक्राउ गरी मुद्दा दायर गरेको हो ।

Pradeep-Adhikari-CAAN-2-1536x1024-1764759376.jpg
यसअघि हेलिप्याड निर्माणमा अनियमितताको आरोप लागे पनि शक्तिको आडमा उनले उन्मुक्ति पाउँदै आएका थिए । 
मुद्दामा अधिकारी लगायत अभियुक्तसँग १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ विगो माग गरिएको छ । मुद्दा दायरसँगै दुई महिनापछि कार्यकाल सकिन लागेका अधिकारी निलम्बनमा परेका छन्। अधिकारीको चार वर्षे कार्यकाल माघ तेस्रो सातासम्म छ।

क्यानले नलिन्चोकको ३२ रोपनी जग्गामा १५ करोड रुपैयाँ खर्च गरेर निर्माण गरेको हेलिप्याड २०८१ असार ७ गतेबाट सञ्चालनमा आएको थियो । स्रोतका अनुसार अख्तियारको टोलीले अधिकारीको निवासमा छापा समेत मारेको छ।

अधिकारी लगायत ६ जना र निर्माण कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो । मुद्दा दायर गरिएका ६ मध्ये ४ जना क्यानका कर्मचारी हुन्। निर्देशक मुरारी भण्डारी, उपप्रबन्धक समृद्धि श्रेष्ठ र प्रबन्धक नवलविक्रम थापाविरुद्ध मुद्दा दायर गरिएको हो । कम्पनीका सञ्चालक विजय थापा र इन्जिनयर गुरुदत्त अधिकारीलाई पनि प्रतिवादी बनाइएको छ।

अख्तियारीले मुद्दा दायर गर्नुअघि अधिकारीका अलावा क्यानका निर्देशक भण्डारीलाई पनि पक्राउ गरेको थियो। भण्डारी क्यानका इन्जिनियरिङ विभाग प्रमुख हुन्।

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  १६:४१
प्रतिक्रिया दिनुहोस्