सोसल मिडिया
हाम्रो बारे
गोपनीयता नीति
नेपालको सबैभन्दा ठूलो स्पिनिङ उद्योगको रुपमा स्थापित रिलायन्स स्पिनिङ मिल्सले पुनः आफ्नो गति पकडेको छ । विश्वव्यापी कोभिड महामारी, विद्युत अभालगायत समस्याले प्रभावित भएको उक्त उद्योगले गत आर्थिक वर्षदेखि पुरानै लय समातेको हो । उद्योगले आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो वर्षको भन्दा ४२ प्रतिशत नाफा कमाएर लयमा हिँडेको सन्देश दिएको हो ।
कम्पनीले सोमबार सार्वजनिक गरेको वार्षिक वित्तीय विवरण अनुसार आर्षिक वर्ष २०८१/८२ मा कुल १ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको छ । यस्तो नाफा अघिल्लो आर्थिक वर्षको भन्दा झण्डै ४२ प्रतिशतले बढी हो । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ८६ करोड ५० लाख रुपैयाँ रहेको थियो ।
२०५४ सालमा स्थापित देशको अग्रणी रिलायन्स स्पिनिङ मिल्सले कपास, पोलिस्टर, भिस्कोज, एक्रेलिक र टेक्स्चर्ड यार्न उत्पादन गर्र्दै आएको छ । उद्योगका उत्पादनहरु नेपालभित्र खपत हुनुका साथै भारत, टर्कीलगायत देशमा निर्यात हुने गरेका छन् । वार्षिक ५ करोड अमेरिकी डलर बराबरको निर्यात हुन्छ । यो नेपालको सबैभन्दा ठूलो स्पिनिङ उद्योग हो ।
कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा अधिकांश सूचकमा उल्लेख्य सुधार गरेको छ । उक्त वर्षमा १० अर्ब २३ करोड ८३ लाख १२ हजार ६ सय रुपैयाँ बराबरको व्यापार गरेको वित्तीय विवरणमा उल्लेख छ । आर्थिक वर्ष २०८०/८१ मा भने ९ अर्ब २० करोड ६० लाख ८ सय ३१ रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
युवा उद्यमी अक्षय गोल्यानको नेतृत्वमा रहेको रिलायन्स स्पिनिङ मिल्सले स्वदेशका साथै अन्तर्राष्ट्रिय बजारमा विशिष्ट पहिचान स्थापित गर्न सफल भएको छ । उद्योग तथा वाणिज्य क्षेत्रबाट राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको भन्दै नेपाल सरकारले गत असारमा स्पिनिङ मिल्सका नेतृत्वकर्ता गोल्यानलाई ‘महत्वपूर्ण वर्ष व्यक्ति’ ९सीआईपी० बाट सम्मान गरेको थियो । गोल्यान ग्रुपको प्रबन्ध निर्देशकसमेत रहेका अक्षयले स्पिनिङ मिल्ससहित विभिन्न कम्पनीको नेतृत्व गरिरहेका छन् ।
९ हजार स्पिन्डल क्षमताबाट सुरु भएको रिलायन्स स्पिरिङ मिल्स हाल १ लाख २ हजार ८ सय २४ स्पिन्डलको जडित क्षमतासहित सञ्चालन भइरहेको छ । सुनसरीको खनार र दुहबीमा उद्योगका दुईवटा धागो कारखाना रहेका छन्, जहाँ १ हजार ३ सय महिलासहित ४ हजार व्यक्तिले रोजगारी पाएका छन् ।