एयर इन्डियाको जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या २६० पुग्यो

जहाज खसेको होस्टलका १९ जनाको पनि मृत्यु
शुक्रबार, जेठ ३०, २०८२

एयर इन्डियाको जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या कम्तिमा २६० जना पुगेको छ। भारतको गुजरात प्रान्तस्थित अहमदाबादको मेघनीनगरमा बिहीबार दिउँसो भएको दुर्घटनामा अहिलेसम्म मृत्यु हुनेको संख्या २६० जना पुगेको भारतीय अनलाइन पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ।

दुर्घटनामा एक यात्रु भने जिवित रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। जिवित भेटिएका यात्रु बेलायती नागरिक  ४० वर्षीय विश्वासकुमार रमेश छन्। उनको उपचार भइरहेको छ।

एयर इन्डियाको बोइङ ७८७–८ जहाज अहमदाबादको सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको दुई मिनेटमै दुर्घटनामा परेको थियो। जहाज उडेर उचाइ लिन नसक्दा मेघनीनगरको एउटा आवासीय भवनको छतमा खसेको थियो। उडेको ३३ सेकेन्डमै जहाज दुर्घटना भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

जहाज खसेको आवासीय भवन बिजे मेडिकल कलेजका इन्टर्न डाक्टरहरू बस्ने होस्टल हो। जहाज खसेपछि आगोलागी हुँदा उक्त होस्टल पनि जलेर नष्ट भएको थियो। त्यहाँ कम्तिमा १९ जनाको मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। ५० जना भन्दा बढी घाइते भएका छन्।

शव संकलन गरी अहमदाबादको सरकारी अस्पतालमा लगिएको छ। धेरै शवहरू पहिचान गर्न नसक्ने अवस्थामा छन्। ती शवको डिएनए परीक्षण गरेर पहिचान गरिने बताइएको छ। दुर्घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाह बिहीबार नै अहमदाबाद गएका थिए।

जहाजमा १५९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगिज र एक जना क्यानाडेली सवार थिए। जहाज अहमदाबादबाट लन्डन जाँदै थियो।

 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  ०९:०१
प्रतिक्रिया दिनुहोस्