माधव नेपाललाई १० देखि १४ वर्षसम्म कैद सजाय गर्नुपर्ने अख्तियारको माग

शुक्रबार, जेठ २३, २०८२

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव प्रसाद नेपालविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गर्दा उनीसहित ९३ जनालाई प्रतिवादी बनाएको छ।

अख्तियारले माधव नेपालविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार मुद्दा दायर गरेको हो। दफा १७ मा सम्पत्तिको हिनामिना वा दुरूपयोग गर्नेलाई सजाय गर्ने उल्लेख छ।

‘कुनै राष्ट्र सेवकले आफ्नो जिम्मामा रहेको सार्वजनिक, सरकारी वा कसैको निजी सम्पत्ति बदनियतपूर्वक आफू वा अन्य कुनै व्यक्ति वा निकायलाई लाभ हुने गरी हिनामिना वा दुरूपयोग गरेमा वा मासेमा वा रूपान्तरण वा हस्तान्तरण गरेमा निज वा निजसँग मिली कसुर गर्ने अन्य व्यक्तिबाट त्यस्तो सम्पत्ति वा सोको बिगो असुल उपर गरी कसुरको मात्रा अनुसार दफा ३ बमोजिम सजाय हुनेछ,’ उक्त दफामा भनिएको छ।

नेपालविरूद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरेको छ। साथै १० वर्षदेखि १४ वर्षसम्म कैद सजायको माग गरिएको छ। त्यस्तै बिगो बमोजिम जरिवाना र उक्त बिगो असुल गरेर पनि प्रधानमन्त्री भएकाले उनलाई थप तीन वर्षसम्मको कैद सजाय अख्तियारले माग गरेको हो।

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  ०७:२५
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय