‘सगरमाथा संवाद’ मा हिमालको चिन्ता हुँदै गर्दा हुम्लामा फुट्यो हिमताल

सोमबार, जेठ ५, २०८२

काठमाडौंमा दुई दिनअघि जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य शीर्षकमा सगरमाथा संवाद नामक अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदै थियो ।
त्यसैको अघिल्लो राति अर्थात् १ जेठमा पश्चिम कर्णाली पहाडको विकट लिमी उपत्यकाको हिमाली क्षेत्रमा हिमताल फुटेर एकाएक पहिरो गयो । नाम्खा गाउँपालिका वडा नम्बर ६ को तिलगाउँमा पहिरो जाँदा सिंगो बस्ती नै यतिबेला विस्थापित छ ।

हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँका बासिन्दा १ जेठको राति सुतिसकेका थिए । राति खहरे गडगडाएझैं ठूलो आवाजले १८ घरका बासिन्दाको भागाभाग भयो । वर्षाको कुनै संकेत बेगर आएको यो बाढीबारे तिलगाउँका वडाध्यक्ष पाल्जोर लामाले भने, ‘पहिरो गएको ठाउँ हेर्दै अचम्मको रहेछ, म वारिपट्टि रहेकाले गर्दा गाउँ पुग्न पनि निकै गाह्रो थियो । तल एक ठाउँबाट बाटो पार गर्न सकिन्छ जस्तो देखियो । त्यसपछि म त्यो बाटो हुँदै गाउँतर्फ लागेँ । हेर्दाखेरि ठूलो क्षतिजस्तो नदेखिए पनि बस्ती नै जोखिमतर्फ गइसकेको रहेछ ।’

विकट तिलगाउँमा पुग्न हिल्साबाट जनपद र सशस्त्र प्रहरीलाई आधा दिन समय लाग्यो । उनीहरूले क्षति विवरण लिएर गए पनि उद्धारको ठोस कार्य भने हुन सकेन ।

उच्च जोखिममा परेपछि ३२ जनालाई खुला चौरमा सारेर त्रिपाल टाँगेर राखिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए । यो गाउँमा ५० घरधुरी मध्ये १८ घरधुरी अहिले बसोबास गर्दै आएका थिए । उनका अनुसार लेदोसहितको पहिरोका कारण तिल्चुङ खोलामा रहेका ५ वटा काठे पुल बगाएको छ । सोनाम साङ्मु लामाको घरको छत पहिरोका कारण प्वाल परेको छ । छे बुटी लामाको घर चर्किएको छ । धर्मशालाको छत समेत भत्किएको छ ।

जलवायु परिवर्तनका कारण नेपाललाई परिरहेको असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले सरकारले ‘सगरमाथा संवाद’ कार्यक्रम गरिरहेका बेला हिमाली जिल्ला हुम्लामा बाढीले वितण्डा मच्चाएको हो । आजै बिहान मात्रै सगरमाथा संवादमा आएका पाहुनाहरूलाई लिएर सरकारी टोली माउन्टेन फ्लाइटमार्फत हिमालहरूको अवलोकनका लागि निस्किएको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  ००:२७
प्रतिक्रिया दिनुहोस्