भारतको केआईआईटीमा अर्की नेपाली विद्यार्थीको मृत्यु

शुक्रबार, वैशाख १९, २०८२

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक नेपाली विद्यार्थी मृत फेला परेकी छिन् । वीरगञ्ज घर भएकी प्रिशा साह बिहीबार बेलुकी करिब ८ बजे होस्टलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर, एसएसपी सञ्जीव शर्मा दासले घटनाको पुष्टि गरे । उनले भने, ‘वीरगञ्ज घर भएकी प्रिशा शाह बिहीबार बेलुकी करिब ८ बजेतिर मृत फेला परेकी छन् । घटनाको अनुसन्धान सुरु भएको छ ।’ उनले प्रिशाको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको, तर परिवारका सदस्य आएपछि मात्र पोष्टमार्टम गरिने बताए । उनका अनुसार प्रिशा होस्टलमा सिनियर दिदीहरूसँगै बस्ने गरेकी थिइन् । तर, घटनाको क्रममा कोठामा कोही थिएनन् ।

गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् । आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएकोबारे उनले दुई पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन् । तर, कलेजले गम्भीरतापूर्वक नलिँदा उनले आत्महत्या गरेकी थिइन् । त्यसपछि प्रकृतिको न्याय माग्दै क्याम्पसमा नेपाली विद्यार्थीले गरेको प्रदर्शनमा कलेज प्रशासनले दमन गरेको थियो । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  ०१:०७
प्रतिक्रिया दिनुहोस्