सोसल मिडिया
हाम्रो बारे
गोपनीयता नीति
काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणले भक्तपुरको नलिनचोकमा सञ्चालनमा ल्याएको हेलिप्याडमा आर्थिक अनियमितता भएको भन्दै संघीय संसदको सार्वजनिक लेखा समितिमा उजुरी परेको छ । ‘नेपाल राज्यको सचेत नागरिकहरु’ को तर्फबाट दर्ता गरिएको उजुरीमा हवाई सुरक्षाको दृष्टिकोणले उच्च जोखिमयुक्त स्थानमा आर्थिक लाभको लागि हेलिप्याड निर्माण गरिएको उल्लेख छ । ‘हेलिप्याड सञ्चालनमा आए लगत्तै सरोकारवाला हेलिकप्टर सेवा प्रदायक कम्पनी तथा हेलिकप्टर चालकहरुले हवाई सुरक्षाको दृष्टिकोणबाट उच्च जोखिमयुक्त र उडान तथा अवतरणको लागि अनुपयुक्त रहेकाले उक्त स्थानबाट सेवा दिन नसकिने अवगत गराइसकेका छन्,’ उजुरीमा भनिएको छ, ‘प्राधिकरणले भने जसरी पनि त्यहाँबाट सेवा दिन दवाव दिइरहेको अवस्था छ ।’
नलिनचोकमा सञ्चालनमा ल्याइएको हेलिप्याड ‘हेलिप्याड निर्माण तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७५’ तथा अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ) को मापदण्ड बमोजिम नरहेको उल्लेख छ । ‘अन्तर्राष्ट्रिय न्यूनतम मापदण्डअन्तर्गत २ वटा अप्रोच पथ तथा २ वटा डिपार्चर पथ हुनुपर्ने प्रावधान रहेको भएता पनि नलिनचोक हेलिप्याडमा एकवटा मात्र अप्रोच र डिपार्चर पथ भएको हुँदा उडान र अवतरण गर्न साह्रै कठिन रहेको छ,’ उजुरीमा भनिएको छ, ‘यसले दुर्घटनाको जोखिम पनि बृद्धि गरेको छ ।’
सामान्यतः हेलिप्याड चारैतिरबाट उडान तथा अवतरण गर्न सकिने ठाउँमा हुनुपर्छ । नलिनचोक हेलिप्याड भने तीनतिर अग्ला पहाड भएको साँघुरो खोँचमा निर्माण गरिएको छ । हेलिप्याड प्राविधिक रुपमा जटिल एवं अव्यवहारिक भूगोल हुनुका साथै मानववस्तीबीच रहेको छ । उडान क्षेत्र वरिपरि टेलिकम टावर, हाइटेन्सन लाइन रहेको छ । आपतकालीन अवतरणको व्यवस्थासमेत रहेको छैन । यसले गर्दा दुर्घटनाको जोखिम उच्च रहेको छ ।
आर्थिक लाभको लागि प्राविधिक, वातावरणीय र सुरक्षाको संभाव्यतासमेत अध्ययन नगरिएको उजुरीमा उल्लेख गरिएको छ । नलिनचोक हेलिप्याड निर्माण गर्दा पूर्वाधारको पर्याप्तता ख्याल नगरिनु, नेपाल आयल निगमसँग हवाई इन्धनको सम्झौतासमेत नगर्नु र सेफ्टी प्रोटोकल निर्धारण नगर्नुले प्राधिकरणको नियतमाथि गंभीर प्रश्न उठाइएको छ ।
सबै हिसाबले नलिनचोकमा हेलिप्याड निर्माण उपयुक्त नरहे पनि प्राधिकरणका पदाधिकारीले आर्थिक लाभका लागि जवरजस्ती हेलिप्याड निर्माण गरेको उजुरीकर्ताको दावी छ । १७/२०८१–८२ दर्ता नम्बर रहेको उजुरीमा नेपाल नागरिक उड्ययन प्राधिकरणद्वारा जारी हेलिप्याड निर्माण तथा सञ्चालनसम्बन्धी कार्यविधि र हेलिकप्टर पाइलटहरुले उडान नगर्ने भनी नेपाल नागरिक उड्ययन प्राधिकरणलाई बुझाएको ज्ञापनपत्रसमेत संलग्न गरिएको छ । सार्वजनिक लेखा समितिको सचिवालयका एक अधिकारीले दर्ता भएको उजुरी अध्ययन गर्ने काम भइरहेको र छिट्टै छानबिन प्रक्रिया सुरु गर्ने जानकारी दिए ।