जुनसुकै गाडीलाई मिल्ने चार्जिङ स्टेशन राख्नुपर्छ: पूर्वअर्थसचिव खनाल

शुक्रबार, साउन ३२, २०८१

Rameshwar-Khanal-1723823508.jpg
 

पूर्व अर्थसचिव रामेश्वर खनालले जुनसुकै बिजुली गाडीलाई मिल्ने चार्जर स्टेशन राख्नुपर्ने बताएका छन्। 

शुक्रबार काठमाडौंको सोल्टी होटलमा सेतोपाटीले आयोजना गरेको इभी कन्क्लेभको दोस्रो सत्रमा बोल्दै उनले जुनसुकै बिजुली गाडीमा मिल्ने चार्जिङ स्टेशन राख्नुपर्ने बताएका हुन्।

उनले यसरी चार्जिङ स्टेशन नराखे देशभर घुम्न नसकिने पनि बताएका छन्।

'आगामी एक दशकसम्म इभी लिएर नेपाल घुम्न सकिँदैन। किनभने फास्ट चार्जर स्टेशन यहाँ छैन। जुनसुकै गाडीलाई मिल्ने चार्जर स्टेशन राख्नुपर्छ भन्दै आएका छौं,' उनले भने, 'तर सबैतिर मिल्ने राखिएको छैन। पहिले पेट्रोल बोकेर हिँड्नुपर्ने थियो, अहिले चार्जर बोकेर हिँड्दा हुनेसम्म भएको छ। आगामी १०/ १५ वर्षमा भने चार्जर नै नबोकी हिँड्न मिल्ने अवस्था आउँछ।'

इभीका केही सवारी साधनको ग्राउन्ड क्लियरेन्स र सडकमा हुने खाल्डाखाल्डीले पनि समस्या हुने उनले बताए। 

'नेपालको रोड कहाँनेर खाल्डो परेको छ भन्ने थाहै हुँदैन। सडक गति नै भएका ठाउँमा पनि स्पिड ब्रेकर बनाएको हुन्छ नि, यसले गाह्रो हुन्छ। क्लियरेन्स कम भएको रेन्ज बढी भएको सवारी छ भने गन्तव्य पुगेर चार्जिङ स्टेशन पुगेर फेरि चार्ज गर्न सकिन्छ। दुर्गम ठाउँमा गाडी बिग्रियो भने गाह्रो हुन्छ,' उनले भने।

यस्तै उनले पेट्रोलियम गाडी किन्नुभन्दा बिजुली गाडी किन्नुको फाइदा उनले बताए। 

'इभी किन्यो भने बचाएको पैसा एक पटक खर्च गर्न सजिलो हुन्छ। पेट्रोल गाडीमा प्रत्येक हप्ता ५/७ हजार लिएर हिँड्नुपर्ने हुन्छ। इभी लिएर हिँड्ने हो भने ५/ ७ सय बच्छ। केही दिन पैसा खल्तीमा नभए पनि हिँड्न सकिन्छ,' उनले भने।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  २१:४०
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय