गायिका रचना रिमालको सानो आन्द्रामा समस्या

बुधबार, जेठ २८, २०८२

सांगीतिक कार्यक्रमको लागि रुकुम पश्चिम पुगेकी गायिका रचना रिमाललाई स्वास्थ्यमा खराबी देखिएपछि मंगलबार काठमाडौं ल्याइएको छ । उनको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। उनलाई मंगलबार दिउँसो हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो। 

परीक्षण क्रममा उनको आन्द्रामा संक्रमण देखिएको छ। रचनासँगै अस्पतालमा रहेका संगीतकर्मीका अनुसार उनको सानो आन्द्रा सुन्निएको चिकित्सकले बताएका छन्। संक्रमण बढ्न नदिन एन्टिबायोटिक्स चलाउन चिकित्सकले सुझाव दिएका छन्। 

दुई–तीन दिन अस्पतालमै राख्नुपर्ने डाक्टरहरुले बताएका छन्। अहिले उनलाई इमरजेन्सीबाट वार्ड सार्ने तयारी छ। 

रचनाले मंगलबार रूकुम पश्चिम सानिभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिने तयारी थियो। तर मंगलबार बिहान अचानक पेट दुखेको बताएपछि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर उनलाई नेपालगञ्ज लगिएको थियो। त्यहाँबाट उनलाई काठमाडौं ल्याएर अस्पताल भर्ना गरिएको हो। रचना पछिल्लो पुस्ताकी लोकप्रिय गायिका हुन्। 

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  ०८:२३
प्रतिक्रिया दिनुहोस्