हर्कबहादुर ‘हेडसर’ को हुटहुटीले सुधारिँदै दैलेखको हिमालय मावि

आइतबार, वैशाख २१, २०८२

दैलेखको चामुन्डाबिन्द्रासैनी नगरपालिका–१ स्थित हिमालय माविा खानेपानीको आफ्नै धारा छैन । समुदायले प्रयोग गर्ने पानीको मुहानबाट कार्यालय सहयोगीले बिहान–बेलुका ड्रममा पानी भर्छन् । त्यही पानी फिल्टरबाट शुद्धीकरण गरेर शिक्षक–विद्यार्थीले पिउँछन् । स्कुलको प्रत्येक कक्षाकोठामा फिल्टर राखिएका छन् । त्यहाँ अध्ययनरत करिब ३ सय ८० विद्यार्थीले ‘फिल्ट्रेसन’ भएको पानी पिउँछन् ।

खानेपानीको अभावका बीच शुद्धीकरण गरिएको पानी वितरण कसरी संभव भयो ? हामीले यो प्रश्न स्कुलका प्रधानाध्यापक हर्कबहादुर बिकलाई सोध्यौं । उनको जवाफ थियो– ‘मेरो मनभित्र स्कुल बनाउने हुटहुटी बढेको छ, जाँगर र इच्छाशक्ति भयो भने अभावमा पनि संभावना देखिँदो रहेछ ।’

वास्तवमै ‘हर्कबहादुर हेडसर’ को स्कुल बनाउने हुटहुटीले अहिले हिमालय माविले गति लिएको छ । दुर्गम बस्तीमा रहेको स्कुलमा शुद्ध खानेपानीका साथै भौतिक संरचनाको विस्तार भइरहेको छ । पुस्तकालय निर्माणको कामले गति लिएको छ भने स्कुल इन्टरनेटको पहुँचमा पुगेको छ ।

2-1746322922.jpgस्कुलले आर्थिक अभाव झेलिरहेको छ, तैपनि उनले विभिन्न जुक्ति लगाएर स्रोत–साधन जुटाइहेका छन् । उनले विशेषगरी सामाजिक सञ्जालको प्रयोग गरेर सहयोग जुटाइरहेका छन् । स्कुलको लागि आवश्यक पर्ने फिल्टर पनि कोरियामा बस्ने समाजसेवी यज्ञराज कँडेलले प्रदान गरेका हुन् । ‘मैले स्कुलमा खानेपानीको अभाव भएको र फिल्टर भइदिएमा विद्यार्थीलाई शुद्ध पानी पिलाउन सहज हुने कुरा लेखेको थिएँ, कोरियाबाट फिल्टरको लागि सहयोग गर्नुभयो,’ उनले भने, ‘फिल्टर त आयो त्यसको लागि चाहिने स्ट्यान्ड छैन, त्यो पनि फेसबुकमा लेखेपछि गाउँकै अर्का एक समाजसेवीले सहयोग गर्नुभयो ।’ अहिले स्कुलमा शिक्षक र विद्यार्थीले फिल्टरबाट शुद्धीकरण गरिएको पानी पिउने गरेका उनले बताए ।

3-1746323011.jpg
हर्कबहादुरको यही जुक्तिले स्कुलमा पुस्तकालय स्थापना हुँदैछ । सामाजिक सञ्जालमा पुस्तकालय स्थापनाको अवधारणासहित सहयोगको अपिल गरेपछि स्कुल रहेको समुदायका साथै विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको उनले बताए । कसैले नगद त कसैले पुस्तकलगायत सामग्री सहयोग गरेका उनको भनाइ छ । उनले सुर्खेत र दैलेखका पुस्तक पसललाई चिठी लेखेरै सहयोगको आग्रह गरेका छन् । ‘अब हाम्रो स्कुलमा सुविधा सम्पन्न पुस्तकालय बन्छ भन्ने विश्वास पलाएको छ,’ उनले भने, ‘अहिले त सिंगो समुदाय हाम्रो अभियानमा सक्रियताका साथ लागिरहेको छ ।’

हर्कबहादुरको सामाजिक सञ्जाल सदुपयोगको कथा पनि रोचक छ । एक दिन स्कुलमा राखिएको गुनासो पेटिका खोल्दै गर्दा एकजना विद्यार्थीले गुनासो लेखेका थिए– हामीलाई स्कुलमै शुद्ध खानेपानीको व्यवस्था गरियोस् । खानेपानी अभावको समस्या हर्कबहादुरले नदेखेका होइनन् । मध्यान्तरपछि विद्यार्थीहरु पानी पिउनको लागि स्कुलको हाताबाहिर गएको देख्दा उनको मन अमिलो हुन्थ्यो । त्यसमाथि बालबालिकाले लेखेरै गुनासो गरेपछि दवाव महसुुस गरे । तर के गर्नु ? स्कुलसँग आर्थिक स्रोत छैन । त्यसपछि उनको दिमागमा ‘क्लिक’ भयो– सामाजिक सञ्जालको प्रयोग गर्ने ।

२०८० मंसिरमा उनले स्कुलको नाममा फेसबुक खाता खोले । अनि त्यसमै मुख्य समस्यासहित सहयोगको अपिल गरे । फेसबुक पोष्टमा फिल्टरको आवश्यकता दर्साइएको थियो । त्यो देखेपछि दक्षिण कोरियामा बस्ने यज्ञराज कँडेलले हर्कबहादुरलाई म्यासेज भने– ‘स्कुललाई कति फिल्टर चाहिन्छ भन्नुहोला, म त्यसको लागि आवश्यक पैसा पठाइदिन्छु ।’

हर्कबहादुरको आग्रहमा यज्ञराजले ११ वटा फिल्टरको लागि रकम पठाइदिए । फिल्टर त किनियो, राख्नका लाग स्ट्याण्ड छैन । संयोगले उनको भेट गाउँका सुन्तला किसान जयबहादुर सिँजालीसँग भयो । उनले समस्या सुनाए । जयबहादुरले फिल्टर राख्ने स्ट्याण्ड किनिदिए । ‘अहिले विद्यार्थीले खानेपानीको अभाव खेप्नु परेको छैन, सबैको सहयोगले सहज भएको छ,’ हर्कबहादुरले भने ।

5-1746323570.jpgस्कुलको फेसबुक खातामा गरिएको अपिलले अहिले पुस्तकालय निर्माणको गति लिँदैछ । हिमालय माविका पूर्वविद्यार्थी र अन्य सहयोगीले पुस्तक उपलब्ध गराएका छन् । हर्कबहादुर आफैले सुर्खेत र दैलेखका बजारका पुस्तक पसलमा गएर पुस्तक सहयोग गरिदिन पत्र पठाएका छन् । ‘सुरुमा पुस्तक पसलमा जाँदा धेरैले माग्न आएको भनेर हप्काएका थिए, पछि कुरा बुझाएपछि राम्रो सहयोग भएको छ,’ उनले भने । उनका अनुसार अहिलेसम्म करिब २ सय पुस्तक संकलन भइसकेका छन् । स्कुलले पुस्तकालयको लागि छुट्टै कोठा व्यवस्था गरेको छ । सहयोगीहरुले पर्‍याक र दराज बनाएका छन् । यही वैशाख महिनाभित्र पुस्तकालय उद्घाटन गर्ने योजना उनले सुनाए ।

स्कुल सुधार्ने हर्कबहादुरको योजनामा देशका विभिन्न ठाउँमा रहेका व्यक्तिहरुले साथ दिएका छन् । अहिलेसम्म करिब ८० जनाले आर्थिक तथा जिन्सी सहयोग गरेका छन् । ६ सय रुपैयाँदेखि ३५ हजार रुपैयाँसम्म सहयोग गरेका उनले बताए । ‘हामीलाई धेरै व्यक्तिले आफ्नो गच्छेअनुसार धेरै–थोरै सहयोग गर्नुभएको छ,’ उनले भने, ‘त्यस्तो सहयोगले हामीलाई उर्जा थप्ने गरेको छ ।’

हर्कबहादुर आफै पनि मनकारी छन् । उनी आफ्नो तलबसमेत स्कुलको लागि खर्च गर्छन् । २०८० को दसैं भत्ताबाट उनले स्कुलमै कमजोर विद्यार्थीलाई कोचिङ कक्षा चलाएका थिए । ‘स्कुल राम्रो बनाउने हो भने आफैबाट सुरुवात गर्नुपर्छ भनेर मैले सकेजति सहयोग गरेको छु, राम्रो कामको लागि अरुसँग माग्न पनि लाज मान्नु हुँदैन भन्ने मेरो मान्यता रहेको छ,’ उनले भने ।

हिमाललय माविमा शिक्षक र कर्मचारीका छोराछोरीलाई सोही स्कुलमा पढाउनुपर्ने नियम बनाइएको छ । यसमा समेत सबै शिक्षक–कर्मचारीले साथ दिएका छन् । आफ्ना छोराछोरी आफ्नै स्कुलमा पढ्ने भएपछि शिक्षकले पनि राम्ररी पढाउने गरेका उनको अनुभव छ ।

हर्कबहादुरले स्कुल सुधारका लागि विकास साझेदार संस्थाहरुसँग पनि सुमधुर सम्बन्ध बनाएका छन् । शिक्षा क्षेत्रमा सहयोग गरिरहेको सोसेक नेपाल र सेभ द चिल्ड्रेनले खानेपानी योजना निर्माणको काम अघि बढाएका छन् । सोसेकका फिल्ड प्रबन्धक निर्मल अधिकारी हर्कबहादुरको सक्रियताले हिमालय माविले चोला फेर्न थालेको बताउँछन् । ‘स्कुलले राम्रो योजना निर्माण गरी सुधारको विश्वास दिलाएपछि हामीले पनि साथ दिएका छौं,’ उनले भने, ‘वास्तवमै हर्क सरको स्कुल बनाउने हुटहुटी लोभलाग्दो छ ।’

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  ०७:४५
प्रतिक्रिया दिनुहोस्